कुन बैंकले होटल व्यवसायमा कति गरे लगानी ? (सुची सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएपनि होटल तथा रेष्टुरेन्ट व्यवसायमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । कोरोनाकै बीच झन्डै एक दर्जन बढी तारे होटल संचालनमा आइसकेका छन् भने आधादर्जन बढी पाँचतारे होटल निर्माणाधीन अवस्थामा रहेका छन् ।

ठूला व्यावसायीक घरानाहरूले धमाधम होटल व्यवसायमा लगानी गर्न थालेका हुन् । एकपटक लगानी गरेपछि वर्षौंसम्म निरन्तर आम्दानी गर्न सकिने भएपछि यस क्षेत्रमा व्यवायीहरूको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय विस्तारै पर्यटन क्षेत्र चलायमान हुन थालेको छ । यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ ।

व्यवसायीहरूले मात्र होइन बैंक तथा वित्तीय संस्थाहरूले होटल तथा रेष्टुरेण्ट व्यवसायमा कर्जा लगानी बढाएका छन् । विदेशी पर्यटकहरूको नेपाल आवागमन बढ्ने र होटल व्यवसाय पुरानै अवस्थामा फर्किने अवस्था देखिएपछि बैंकहरूले यस क्षेत्रमा कर्जा लगानी समेत बढाएको देखिन्छ । नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण पनि बैंकहरूको ऋण लगानी खराब कर्जामा परिणत हुने अवस्था न्यून रहेको छ । जसकारण यस क्षेत्रमा ऋण लगानी बढेको जानकारहरू बताउँछन् ।

पछिल्लो २६ महिनामा मात्रै बैंकहरूले होटल व्यवसायमा झन्डै ६८ अर्ब ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले होटल व्यवसायमा १ खर्ब ९० अर्ब ५३ करोड ऋण लगानी गरेका छन् । जबकी आर्थिक वर्ष २०७६/७७ सम्म होटल व्यवसायमा बैंकहरूले १ खर्ब २२ अर्ब ऋण लगानी गरेका थिए । त्यसैगरी, आव २०७७/७८ सम्म होटल क्षेत्रमा १ खर्ब ४८ अर्ब लगानी गरेका थिए ।

होटल क्षेत्रमा भएको ऋण लगानीमध्ये वाणिज्य बैंकको हिस्सा ८९ प्रतिशत रहेको छ । यस क्षेत्रमा झन्डै २ खर्ब ऋण लगानी हुँदा वाणिज्य बैंकहरू ले मात्र १ खर्ब ७० अर्ब लगानी गरेका छन् ।

कोरोनाका कारण थला परेको पर्यटन तथा होटेल व्यवसाय तंग्रिने अवस्था देखिएपछि बैंकहरूको ऋण लगानी बढेको नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके बताउँछन् ।

‘पछिल्लो समय होटेल तथा रेष्टुरेन्टले बढी ऋण लिएका छन्, काठमाडौँँमा नयाँ स्टार होटेलको निमार्ण बढ्दै गएका कारण कर्जा लिने बढेका हुन्,’ उनले छानबिन संग भने, ‘कोरोनापछि व्यवसाय चलायामान हुँदै गएको छ । विदेशी पर्यटकहरू नेपाल आउने अनुमान गरिएको छ, त्यसैले बैंकहरूले यस क्षेत्रमा ऋण लगानी बढाएका हुन् ।’

व्यवसायलाई उकास्न राष्ट्र बैंकले अहिले लिएको नतिले पनि सहज बनाएको उनले बताए । ‘एक वर्षसम्म ब्याज मात्रै तिरे हुने भयो, अब विदेशीको आवागमन बढ्ने र व्यवसाय तंग्रिने अवस्था देखिएको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुुसार होटल तथा रेष्टुरेण्ट क्षेत्रमा २७ वटा वाणिज्य बैंकहरू ले १ खर्ब ७० अर्ब ऋण लगानी गरेका छन् । जसमा ५ वटा बैंकहरू ले १० अर्ब बढी लगानी गरेका छन् । होटल व्यवसायमा प्रभु बैंकले सबैभन्दा धेरै १४ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकल १२ अर्ब ७७ करोड, प्राइम कमर्सियल ११ अर्ब ७५ करोड, ग्लोबल आइएमई १० अर्ब ३ करोड र एनआइसी एशियाले १० अर्ब ३२ करोड लगानी गरेका छन् ।

यस्तै, १० बैंकहरू ले होटलमा ५ अर्ब बढी कर्जा लगानी गरेका छन् भने १२ बैंकले १ अर्बदेखि ५ अर्बको बीचमा ऋण लगानी गरेका छन् ।होटल व्यवसायमा सबैभन्दा कम विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्डले १ अर्ब ५१ करोड ऋण लगानी गरेको छ ।होटेल तथा पर्यटन क्षेत्रमा गरेको ऋण लगानी तत्काल खराब कर्जामा परिणत हुने अवस्था नरहेको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय गत वर्ष कोरोनाका कारण व्यवसायीले ऋण तिर्न नसके पनि हाल तिर्न थालेको बताउँछन् । ‘हामीले समग्र रूपमा बैंकको वित्तीय अवस्था हेर्ने हो,अहिले नै होटेल तथा पर्यटन क्षेत्रमा दिइएको ऋण निष्क्रिय कर्जामा परिणत हुने अवस्था छैन्,’ उनले भने, ‘आगामी दिनमा के हुन्छ भन्ने दोस्रो त्रैमासिक रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ ।’

ऋणीहरूले नियमित ऋण तिर्न थालेकोले अहिले बैंकहरूको खराब कर्जा घटेको उनले बताए । ‘समग्रमा हेर्ने हो भने खराब कर्जा अहिले घटेको छ, राष्ट्र बैंकले दिएको ऋणको पुनर्तालिकीकरण, पुनर्संंरचना, म्याद थप सुविधाले खराब कर्जा घटाउन सहयोग पुर्याएको हो,’ उनले भने, ‘अहिले अर्थतन्त्र चलायमान भएको छ, ऋणीहरूले नियमित ऋण तिर्न थालेका छन्, जसले लगानी भएको ऋण खराब कर्जामा परिणत हुँदैन होला ।’