बढ्यो सेयर बजार, हाइड्रो चम्किँदा यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट, कति भयो कारोबार ?

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

सेयर बजारमा उछाल आएको छ । सोमबार दोहोरो अंकले बढेको बजारमा आज उच्च अंकको बढोत्तरी आएको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से ९६ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पौने १ अर्बले बढेर साढे ५ अर्ब पुगेको छ ।

सेयर बजार मापक सूचक नेप्से ६९. अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको छ । मंगलबार २२७ कम्पनीको ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५७ रुपैयाँ बराबरको १ करोड ९३ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ५.९५ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर समूह ५.३९ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका २२७ कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रो ३० करोड र अपी पावर २३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल बंगलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माइ हाइड्रोपावर, अपर तामाकोशी र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।त्यसैगरी, तेह्रथुम पावर र मानुषी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, प्रभस इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट, लिबर्टी इनर्जी, दिव्यश्वरी र नेशनल हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।

बढ्दो बजारमा आज विजय लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै २.३७ प्रतिशत गुमाएका छन् ।