यी चार कम्युनिष्ट नेता जसलाई सधै अध्यक्ष पदको ‘भोक’ लाग्छ, हरदम पार्टी नेतृत्वमा को-को छन् ?

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

एमाले नेता विष्णु रिजालले मंगलबारबिहानै सामाजिक सञ्जालमा लेखे–‘सीपी मैनाली मालेको महासचिवमा पुन: निर्वाचित भएछन्। खासमा उनी कम्युनिस्ट आन्दोलनमा पात्रभन्दा पनि प्रवृत्ति हुन्।’

रिजालले मैनालीको बारेमा अगाडि लेखेका छन्, ‘०३१ सालमा कोअर्डिनेसन केन्द्र (कोके) र ०३५ सालमा मालेका संस्थापक महासचिव रहेका, कुनै बेलाका तिलस्मी नेता उनको ०५८ बाट माले पुनर्गठन गरेर निरन्तर महासचिव भइरहँदा पार्टी खिएर पींधमा पुगिसक्दा पनि रहर पुगेको छैन। पुष्पकमल दाहाल, मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, चित्रबहादुर केसी, सीपी मैनालीजस्तै एकपटक पार्टीको नेतृत्वमा पुगिसकेपछि आजीवन पार्टी कब्जा गर्ने प्रवृत्तिले नेतृत्व विकासमात्र अवरुद्ध हुन्न, पार्टीकै विकास पनि अवरुद्ध हुन्छ भन्ने व्यवहारमै देखिएको छ।’
उनले नेकपा एमालेलाई भने अरुभन्दा भिन्न देखाएका छन्। भनेका छन्, ‘यस्तै अनुभवहरूका आधारमा नेकपा (एमाले) ले ७० बर्षको उमेर हद वा दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नपाइने व्यवस्था गरेर नेपालको पहिलो र उदाहरणीय पार्टी बनेको छ।’

रिजालले भनेजस्तै नेपालका कम्युनिष्ट पार्टीको नेतृत्वमा जो–जो पुगे, तिनमा जीवनभर नै त्यही पदमा रहने प्रवृत्ति देखिएको छ। सबैभन्दा लामो समय नेतृत्वमा रहने रेकर्ड बनाएका छन् नेकपा (मसाल)का नेता मोहनविक्रम सिंहले। हाल ८७ वर्ष पुगेका सिंह २ वर्षअघि काठमाडौंमा आयोजित महाधिवेशनमा महासचिव चयन भएका थिए। उनी २०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। २०५७ सालतिर केही समय कारबाहीमा पर्दाबाहेक उनी नेतृत्वमा छन्। उनी २०१४ सालदेखि नै नेकपाको केन्द्रीय समितिमा छन्।

लामो समय नेतृत्वमा रहने अर्का नेता नारायणमान बिजुक्छे हुन्। उनी २०४६ साल पछि बनेको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को नेतृत्वमा निरन्तर छन्। त्यसअघि २०३१ सालदेखि नै उनी नेपाल मजदूर किसान संगठनको नेता थिए।

वर्तमान सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि लामो समय सत्तामा रहने नेतामा पर्छन्। उनी सेक्टर काण्डपछि २०४५ सालको सम्मेलनमा महामन्त्री चुनिएका थिए। उनलाई माेहन वैद्यले साे पद सुम्पिएका थिए। त्यसपछि पटक–पटक पार्टी एकीकरण र टुक्रने क्रम जारी रह्यो, पार्टीको नाम पनि पटक–पटक फेरिए। तर नेतृत्वमा उनै छन्।

त्यस्तै, हाल जनता समाजवादी पार्टीका अध्यक्ष रहेका उपेन्द्र यादव पनि २०६३ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन्। सुरुमा मधेशी जनअधिकार फोरमको नेतृत्व गरेका यादवले विभिन्न समयमा नयाँ शक्ति पार्टी, संघीय समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीहरुसँग एकीकरण गरे। बहुनेतृत्व गराएर होस् या एकल, उनी अध्यक्ष बनेकै छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा २०६४ सालदेखि र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य २०६९ सालदेखि नेतृत्वमा छन्। उनीहरु पनि अरु नेतालाई नेतृत्व हस्तान्तरण गर्न नचाहने नेतामा पर्छन्।

त्यस्तै, २०७२ सालमा पार्टी नेतृत्वमा आएका नेपाली कांग्रेसका शेरबहादुर देउवा फेरि पनि नेतृत्व लिने दाैडमा छन्। त्यसअघि पनि २०५९ सालमा नेपाली कांग्रेस टुक्र्याएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका उनले करिब ५ वर्ष उक्त पार्टीको नेतृत्व लिएका थिए। पछि संविधानसभा निर्वाचनअघि कांग्रेस प्रजातान्त्रिक पुनः मुलधारमै फर्कियो।

यस्तै, महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेका अध्यक्ष केपी ओली अर्को कार्यकाल पनि नेतृत्व लिने तयारीमा छन्। यसैगरी एमाले फुुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर अध्यक्ष भएका माधवकुमार नेपाल पनि लामो समय नेकपा एमालेको नेतृत्वमा थिए। समयक्रमले उनमा फेरि पनि नेतृत्वको ‘भोक’ जाग्यो। अनि, एमाले फुटाएरै भए पनि उनी नेतृत्वमा पुगेका छन्।

अब नेपालका प्रमुख दलहरु महाधिवेशनको तयारी छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाले महाधिवेशन गर्दैछन्।
घटनाक्रमले नाटकीय मोड नलिएमा अब फेरि पनि प्रमुख राजनीतिक दलको नेतृत्वमा उनै अनुहारहरु आउनेछन्, जो हामीले दैनिक देखिरहेका छौं–शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, कमल थापा आदि।