नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापतिका लागि तीन जना भिड्ने भएका छन्। बिहीबार हुने नगर अधिवेशनमा उमा थापामगर, प्रशान्त विष्ट र विनोद रिजालले उम्मेदवारी दिने भएका छन्। थापामगर संस्थापनइरबाट नगर सभापतिमा उम्मेदवार बनेकी हुन् भने विष्ट र रिजाल पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्।
जिल्लाका युवा नेताका रुपमा परिचित तीन जनामा थापामगर नेपालगन्ज उपमहानगर पालिकाकी उपमेयरसमेत हुन्। बहालवाला नगर सभापति विष्ट पुनः सोही पदमा उम्मेदवारी दिने तयारीमा छन्। रिजाल तरुण दलका जिल्ला सचिव हुन्।
संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा भिड्दा त्यसको लाभ गैर संस्थापन पक्षकी उम्मेदवार थापामगरले उठाउने सम्भावना बढी रहेको बताइन्छ। थापामगर संस्थापनइतरमा कोइराला परिवार निकट छिन्।
निर्वाचन समितिले १३ जिल्लाको नगर अधिवेशन आज (कात्तिक ३० )का लागि तोकेको थियो। तर, बाँकेमा नगर अधिवेशन दुई दिन ढिलो हुने भएको छ। बाँकेमा कात्तिक २७ का लागि तोकिएको वडा अधिवेशन एक दिन ढिलो सम्पन्न भएको थियो।
बाँकेको वडा अधिवेशनमा संस्थापन इतरबाट बढी विजयी भएको उक्त पक्षको दाबी छ। नेपालगञ्ज उपमहानगरपालिकाको अधिवेशनमा ३३६ जनाले मतदान गर्नेछन्।