२४ बैङ्कको ब्याजदर १० प्रतिशत माथि, यी तीन बैंकको ब्याजदर १० प्रतिशत भन्दा तलै

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर तोकेका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २४ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने ३ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।

गत महिना बैंकहरुले ब्याज बढाउन होडबाजी गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर यो महिना अधिकतम सीमा तोकिदिएको थियो । राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेर बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न पाउने व्यवस्था गरेको थियो ।

सार्वजनिक विवरण अनुसार २४ वटा बैंकहरुले अधिकतम १०.०५ प्रतिशत ब्याजदर तोकेको छन् । विगतमा सस्तो ब्याज दिँदै आएका सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकले समेत ब्याज बढाएर १० प्रतिशत माथि पुर्याएका छन् ।

अधिकांश बैंकले ब्याज १० प्रतिशत माथि पुर्याए पनि ३ बैंकले भने एकल अंकमै राखेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड र स्वदेशी लगानीको निजी क्षेत्रको मेगा बैंकले मात्रै ब्याजदर १० प्रतिशतभन्दा कम राखेका हुन् ।

जसमा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले ९.११ प्रतिशत तोकेको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.५ प्रतिशत र मेगाले ९.९६ प्रतिशत ब्याज निर्धारण गरेको छ ।