इंग्ल्यान्ड शानदार जितसहित विश्वकपमा छानियो, ह्यारी केनले राखे कीर्तिमान

  • प्रकाशित मिति : २०७८ कार्तिक ३०, मंगलवार
  • chhanbin.com

सान मारिनोमाथि गोलको वर्षा गर्दै इंग्ल्यान्डले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ ।

युरोपियन छनोट अन्तर्गत गए राति भएको खेलमा सान मारिनोलाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भएको हो । इंग्ल्यान्डको जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे । यस्तै ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक–एक गोल गरे । ९–० ले पछि परेका बेला सान मारिनोका फिलिप्पो फाब्रीले एक आत्मघाती गोल उपहार दिए ।

खेलमा चार गोल गरेका केन इंग्ल्यान्डबाट एकै वर्षमा १२ भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बने । उनी इंग्ल्यान्डबाट सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन् । केनले हालसम्म इंग्ल्यान्डबाट ४८ गोल गरेका छन् ।