बारले जसो-जसो बाहुन उसै-उसै स्वाहा गर्ने, झन् यसरी धर्म संकटमा जाकिए चोलेन्द्र

  • प्रकाशित मिति : २०७८ कार्तिक २९, सोमबार
  • chhanbin.com

कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा जारी विवादको एकमात्र समाधान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा रहेको बताएका छन्। राणाले विज्ञप्ति जारी गरेर संवादमा आउन आग्रह गरेपछि कानुन व्यवसायीहरूले यस्तो बताएका हुन्।

बार एसोसिएसन परिसरमा आयोजित सभामा बोल्दै उनीहरूले न्यायालय सुधार र समाधानका लागि प्रधानन्यायाधीशको बर्हिगमनमात्र विकल्प रहेको जिकिर गरेका छन्। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशले वक्तव्यमार्फत् वार्ताका लागि गरेको आह्वानको जवाफ वक्तव्यबाटै दिने बताए।सर्वोच्चको नेतृत्वलाई अक्षम ठहर गरिसकेकाले प्रधानन्यायाधीशसँग वार्ताको औचित्य नरहेको उनले जिकिर गरेका छन्।
‘अब उहाँसँग वार्ता हुनसक्दैन, नयाँ आउने नेतृत्वसँग न्यायालय सुधारका लागि छलफल हुन्छ,’ उनले भने,‘प्रधानन्यायाधीशको वक्तव्यको जवाफ वक्तव्यबाटै दिन्छौं।’

सर्वोच्चकेन्द्रित आन्दोलन गर्न देशभरका बारलाई अनुरोध गर्ने तयारी भइरहेको उनले बताए। वरिष्ठ अधिवक्ता सुनीलकुमार पोखरेलले प्रधानन्यायाधीश अदालत सुधारको बाधक बनेकाले राजीनामामात्र अन्तिम विकल्प रहेको बताए।

‘प्रधानन्यायाधीशज्यू राजीनामा पनि विधि र प्रक्रियाअन्तर्गत नै पर्छ,’ पोखरेलले भने,‘तपाईं मार्गप्रशस्त गर्नुस्, न्यायलयलाई थप क्षतिबाट जोगाउनुस्। हाम्रो अनुरोध छ।’

आफूहरूले गरेको भद्र अवज्ञा र शालीन प्रस्तुतिलाई कमजोरी नठान्न आग्रह गर्दै उनले अहिलेको समस्याको समाधान प्रधानन्यायाधीशको बर्हिगमनबाट हुने उल्लेख गरे। ‘अहिलेको आन्दोलनको कारण प्रधानन्यायाधीश हुनुहुन्छ, उहाँकै कारण सुनुवाइ रोकिएको हो,’ उनले भने,‘तपाईं कारण अन्त्य गर्नुस्, प्रभाव आफैं सकिन्छ।’

प्रधानन्यायाधीश अझै बसिरहे न्यायालयलाई थप क्षति बेहोर्नुपर्ने पोखरेलले बताए। वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले पञ्चायतकालमा पनि अदालत परिसरभित्र प्रवेश नगरेको प्रहरीले अहिले कानुन व्यवसायीमाथि लाठीचार्ज गर्नु दुर्भाग्यपूर्ण रहेको बताए।
कानुन व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप खेदजनक रहेको उनको भनाइ थियो।

मुद्दाको निश्पक्ष न्यायका लागि अहिले लडाइँ चलिरहेको बताउँदै उनले कानुन व्यवसायीले अहिले आन्दोलन नगरे कहिल्यै न्याय नपाइने जिकिर गरे। त्यसैगरी अर्का वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले वार्ताको औचित्य सकिएको बताए। ‘प्रधानन्यायाधीशले विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेको सुनेका छौं,’ उनले भने,‘वार्ताको औचित्य सकिएको छ, समस्या समाधानका लागि राजीनामामात्र विकल्प छ।’