रामचन्द्रको भन्दा प्रकाशमानको पल्लाभारी, अनि पो मान्दारैछन् सिंह पौडेल संग दिक्दारी

  • प्रकाशित मिति : २०७८ कार्तिक २९, सोमबार
  • chhanbin.com

पार्टीको आशन्न १४औं महाधिवेशन र २८ कात्तिकमा राखिएको केन्द्रीय कार्यसमिति बैठकबारे धारणा बनाउन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २६ कात्तिकमा आफ्नो गुटका नेताहरुको बैठक राखेका थिए । त्यो बैठकमा गुटका हस्ती पूर्वमहामन्त्री प्रकाशमान सिंह अनुपस्थित भए । त्यसपछि कांग्रेस नेता कार्यकर्ताले पौडेल गुटबाट सिंह अलग भएको सार्वजनिक रुपमै भन्न थालेका छन् ।

सिंह पौडेल गुटबाट अलग भएको र पौडेलले बोलाएका बैठकमा उपस्थित नभएको यो पहिलो पटक भने होइन । उनी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको मन्त्रिपरिषद् विस्तार गर्दाखेरी पौडेलसँग भएको असमझदारीपछि बैठकमा सहभागी हुन छाडेका थिए । देउवाले २२ असोजमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसपछि आक्कलझुक्कल बाहेकका बैठकमा सिंह अनुपस्थित रहदै आएका थिए ।

खासगरी पौडेलसँग सिंह र उनी पक्षीय नेताहरु आफ्नो गुटबाट मन्त्री सिफारिस गर्दा आफूसँग सल्लाह नगरेको भन्दै रिसाएका हुन् । सिंहले समूहमा छलफल गरेर उपयुक्त हिस्सा दिएमा सरकारमा सहभागी हुने नभए पनि केही फरक नपर्ने बताइरहेका थिए । पौडेल समूहले कम्तिमा तीन मन्त्री पाउनु पर्ने र त्यसमा एउटा आफूले सिफारिस गरेको नेतालाई मन्त्री बनाइनु पर्ने धारणा सिंहको थियो । तर, पौडेलले न देउवासँग तीन मन्त्री चाहिन्छ भनेर अड्डी लिन सके, न त सिंहको सिफारिसमा एक नेतालाई मन्त्री बनाए । त्यसपछि उनीहरुको सम्बन्ध चिसिएको हो ।

सिंह निकट एक नेताका अनुसार पौडेलले सिंहसँग प्रष्टीकरण दिँदा भने आफ्नो समूहको सिफारिसमा दुई नेता मन्त्री भए पनि आफ्नो सिफारिसमा मन्त्री नभएको बताउँदै आएका छन् ।

आफूले सिफारिस नगर्दा पनि महामन्त्री डा. शशांक कोइरालाले दुई नेताको नाम सिफारिस गरेकाले मन्त्री भइहाल्ने र पौडेलले आफूहरु मन्त्री बन्न लाग्दा अवरोध सृजना गरेको भन्दै महाधिवेशनमा अफ्टेरो पर्ने भन्दै केही नबोलेको प्रष्टीकरण पनि सिंहलाई पौडेलले दिएका छन् । महामन्त्री डा. कोइरालाको सिफारिसमा दीलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा डा. मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका छन् । सिंहले राजेन्द्र केसीलाई मन्त्री बनाउन सिफारिस गरेका थिए ।

आफू पूर्वमहामन्त्री भएको र उपत्यकालगायत जिल्लामा राम्रो पकड रहेको नेता सिंहले दाबी गर्दै आएका छन् । काठमाडौं उपत्यकामै नभए पनि १० निर्वाचन क्षेत्र भएको काठमाडौं जिल्लामा उनको राम्रो पकट रहेको भर्खरै सम्पन्न भएको पार्टीको पालिकासम्मको अधिवेशनमा देखिएको छ । तर, आफूलाई पौडेल र त्यस समूहका अन्य नेताहरु त्यस अनुरुपको व्यवहार नगरेको सिंहको आरोप रहँदै आएको छ ।

१२ औं महाधिवेशनको पूर्वसंध्यामा तत्कालिन देउवा गुट र अहिलेको संस्थापनबाट तत्कालिन कोइराला र अहिलेकोे पौडेल गुटमा आएर सिंह निर्वाचित महामन्त्री भएका थिए । आफू आएपछि मात्रै १२ औं महाधिवेशनमा सुशील कोइरालाले सभापति जितेको र अहिले पनि सम्मानजनक हैसियत रहेको सिंहको दाबी रहदै आएको छ ।

खासगरी नेवार समुदायमा सिंहको राम्रो पकड छ । उनले महाधिवेशमा सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका छन् । तर त्यो पौडेल समूहको हस्ती भनिएका कोइराला परिवार र अन्य नेताहरु मान्न तयार छैनन् । त्यसैले उनी पौडेल समूहबाट अलग भएर आफ्नो अस्तित्व देखाउने अभियानमा लागेको नेताहरु बताउँछन् ।

भर्खरै सम्पन्न पार्टीको पालिकासम्मको अधिवेशनमा १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका युवा नेता गगन थापा र सिंहबीच सहकार्य भयो । यसले उपत्यका र त्यसमा पनि काठमाडौं जिल्लामा सिंह थापा प्यानलले संस्थापनलाई माथ खुवायो । काठमाडौंका पार्टीका जिल्ला सभापति सवुज बानिया, नेता तथा सांसद राजेन्द्र श्रेष्ठ, रामकृष्ण चित्रकार, चन्द्र महर्जन, गुल्मी सभापति भुवन श्रेष्ठ, काभ्रेका नेता कञ्चनचन्द्र बाधेको बलियो साथ नेता सिंहलाई छ ।

केही समयअघि निधन भएका नेता नविन्द्रराज जोशीको पनि बलियो साथ सिंहलाई थियो । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ पनि सिंहसँग निकट मानिन्छन् । अहिले सिंहले छुट्टै गुट सञ्चालन नगरेकाले नदेखिएका केन्द्रीय समितिमा रहेका नेताहरु पनि उनी पौडेल समूहसँग अलग भएमा देखिने नेताहरुको दाबी छ । यदी कोइराला परिवार, पौडेल र सिंह फरक फरक कित्तामा लाग्ने हो भने कोइराला परिवारसँग जत्ति नभए पनि सिंहको पौडेलको भन्दा बढी मत हुँने नेताहरु बताउँछन् ।

महाधिवेशनमा पौडेल समूहबाट सिंह अलग भएमा अहिलेका उपसभापति र महाधिवेशनमा सभापतिको दाबेदारी प्रस्तुत गरेका विमलेन्द्रसँग सहकार्य हुने धेरै नेताहरुले बताउने गरेका छन् । तर, पौडेल र अन्य नेताहरुले पछिल्लो समय सिंहलाई त्यति बाल दिएका छैनन् ।