सर्बिया,स्पेन र क्रोएसिया विश्वकपमा भिड्ने लाग्यो टुंगो, स्पेनले कसरी गर्यो सुरक्षा ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २९, सोमबार
  • chhanbin.com

खेलको अन्त्यतिर वैकल्पिक फरवार्ड अल्भारो मोराटाको निर्णायक गोल गरेपछि स्पेन आगामी वर्ष कतारमा हुन लागेको विश्वकप फुटबलका लागि छनोट भएको छ ।

गएराति घरेलु मैदानमा भएको निर्णायक खेलमा स्पेनले स्वीडेनलाई हराउँदै अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपका लागि स्थान सुरक्षित गरेको हो ।

पराजित स्वीडेनले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ । सेभियामा आइतबार राति भएको खेलमा घरेलु टोली स्पेनले बल पोसेसन राख्दै पाहुना टोलीलाई लगातार दवावमा राखेको थियो । यद्यपि, गोलका लागि ८६औँ मिनेटसम्म कुर्नु पर्यो ।

त्यस्तै, खेलको अन्त्यतिर पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसियाले रसियालाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ मा स्थान पक्का गरेको छ ।

गएराति, घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले रसियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो । फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बनेको हो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।

यसैगरी, सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई पाखा लगाउँदै सर्बिया पनि अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ ।

खेलको दोस्रो मिनेटमा नै रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा डुसान टाडिचले गोल गरेपछि सर्बियालाई १–१ गोलको स्थितिमा आयो ।

त्यसपछि खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई २–१ को रोमान्चक जित दिलाए ।यस जितसँगै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको छ ।

समूह ए मा रहेको सर्बियाले ८ खेलमा २० अंक जोडेको छ । उ शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।