२८ दिनमै कसले निकाल्यो बैंक बाट ४६ अर्ब ? निक्षेप संकलन गर्न नसकेका बैंक झन् थला परे 

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

चरम तरलता अभाव भइरहेकै बेला झन् बैंकमा राखेको पैसा पनि बाहिरिएको छ । बैंकहरुले थप निक्षेप संकलन गर्न नसकिरहेको बेलामा भएकै पैसा पनि धमाधम बाहिरिन थालेको हो ।नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिकको चार सातामा मात्रै बैंकिङ प्रणालीबाट ४६ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।

कात्तिक पहिलो साता २० अर्ब, दोस्रो साता २ अर्ब, तेस्रो सातामा ९ अर्ब र चौथो सातामा १५ अर्ब निक्षेप बाहिरिएको संघले जनाएको छ । असोज मसान्तसम्म बैंकहरुमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक २६ गतेसम्म आउँदा घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ ।

नेपाल आयल निगमले तेल किन्न एकैपटक ठूलो रकम झिकेकाले निक्षेप घटेको बताइएको छ । यस्तै, दशैं, तिहारको बेला बैंकमा पैसा राखेको उद्योगी, व्यवसायीले चाडवाड सकिएसँगै व्यापार, व्यवसाय गर्न पैसा झिकेको बताइन्छ ।

ठूलो मात्रमा निक्षेप बाहिरिएसँगै आक्रमक कर्जा विस्तार गर्दै आएका बैंकहरुको कर्जा विस्तार पनि सुस्त भएको छ । पछिल्लो ४ सातामा ४६ अर्ब निक्षेप बाहिरिँदा बैंकहरुले जम्मा ३० अर्ब मात्र कर्जा प्रवाह गरेका छन् । कात्तिक चौथो सातासम्म बैंकहरुले कुल ४० खर्ब २८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

निक्षेपलाई आकर्षित गर्न मंसिरदेखि लागू हुनेगरी मुद्दतीमा केही ब्याजदर बढाउने बैंकहरुले तयारी गरिरहेका छन् ।

निक्षेप घट्न थालेपछि कात्तिकको ब्याजदरमा बढाबढ गरेर बैंकले ११ प्रतिशतसम्म पुर्‍याएका थिए । तर, राष्ट्र बैंकले हस्तक्षेप गरेपछि निक्षेपमा बैंकको ब्याजदर अधिकतम ९.३६ प्रतिशत मात्रै रहेको छ।