नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी जति तातेको त्यति नै नयाँ गुट, उपगुट र रोचक घटनाक्रम देखिन थालेका छन्।
सभापति शेरबहादुर देउवाको विकल्प खोज्न १४ औँ महाधिवेशनमा संस्थापन इतर समूह साझा उम्मेदारी बनाउन लामो समयदेखि कसरत गरिरहेपनि सबैको आ–आफ्नो अडानका कारण इतर समूहले साझा उम्मेदारी खडा गर्न सकेका छैनन्।
त्यतिमात्र नभएर कांग्रेसमा संस्थापन इतर मानिएको बरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र खटपट सुरु भएको छ। पौडेल समूहभित्र रहेका नेता प्रकाशमान सिंह सो समूहबाट अलग भएका छन्। पौडेल समूहले शुक्रबार राखेको भेलामा सिंहले कार्यक्रम नै बहिस्कार गरिसकेका छन्। प्रकाशमान सिंह निकट स्रोतका अनुुसार उनले भेला बहिस्कार गर्नुको कारण उक्त बैठकमा उनी आफैं सभापतिमा उम्मेदारी दिने योजना हो।
१३ औँ महाधिवेशनमा पौडेलको प्रस्तावकसमेत रहेका सिंह यो महाधिवेशनमा आफू सभापतिको उम्मेदार हुँदा पौडेलको साथ खोजेका छन्। पौडेलबाट ‘ग्रिनसिग्नल’ नपाएपछि यसअघिका बैठकहरुमा नियमित उपस्थित भएपनि यो पटकको बैठकबाट सिंह टाढिएका छन्।
किन बढ्यो सिंह र पौडेलको दूरी ?
सिंह र पौडेलबीच खटपट र दूरी बढ्नुको एउटा कारण पौडेलले सिंहलाई सभापतिमा प्रस्ताव नगर्नु हो। १३ औँ महाधिवेशनमा पौडेल सभापतिको उम्मेदार रहँदा प्रस्तावक रहेका सिंह यो महाधिवेशनमा पौडेलको साथ खोजिरहेका छन्।
तर पौडेल आफैं उम्मेदारी बन्ने लाइनबाट पछि नहटेपछि सिंह सशंकित भएका छन्। त्यति मात्र नभएर सिंह पौडेलसँग रुष्ट हुनुको अर्को कारण मन्त्रिपरिषद बिस्तारमा सिंहको भागमा कुनै पनि मन्त्रालय नपर्नु हो।
संस्थापन इतरबाट दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजाल र उमाकान्त चौधरी मन्त्री बनेका छन्। यी मध्ये बडू पौडेल निकट मानिन्छन्। रिजाल डा.शशांक कोइराला र चौधरी कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। यसरी सिंहको भागमा कुनै पनि मन्त्रालय नपरेपछि उनी पौडेल संग बिच्किएका हुन्।
‘अप्ठेरो पर्दा सधैं प्रकाश दाइको साथ खोज्छन्, जब अवसर आउँछ एकलौटी ढंगबाट निर्णय गरिन्छ,’ सिंह निकट स्रोतले भन्यो’ ‘शेरबहादुर देउवासँग संसदीय दलको नेतामा चुनाव लड्ने तागत कसैको देखिएन। तर प्रकाश दाइले चुनाब लड्नु भयो। जव चुनौती आउँछ, प्रकाश दाइ चाहिन्छ,जब अवसर आउँछ उहाँलाई एक्ल्याउन खोजिन्छ।’
सिंह पछि नहट्ने
संस्थापन इतर समूहबाट साझा उम्मेदार बन्न नसकेपनि छुट्टै समूह बनाएर सिंह सभापतिमा उम्मेदारी दिने मनस्थितिमा पुगेका छन्। ‘अब प्रकाश दाइलाई साझा उम्मेदार स्वीकार गर्ने वातावरण भयो भने हामी बैठकमा फेरि जोडिने छाैं। नत्र उक्त समूहको बैठकमा जानुको कुनैपनि अर्थ छैन,’ उनी निकटस्रोतले भन्यो, ‘उहाँ कुनैपनि हालतमा सभापतिबाट पछि हट्ने मनाशयमा हुनुहुन्न। त्यसका लागि उहाँ छलफल र संवाद मै हुनुुहुन्छ।’
अनौपचारिक रुपमा पटक÷पटक सभापतिको उम्मेदारी दिने बताउँदै आएका सिंहले औपचारिक रुपमा भने,आफ्नो उम्मेदारी घोषणा गरेका छैनन्। यसका लागि भित्री रुपमा गृहकार्य हुँदै गरेकाले उपयुक्त समयमा सार्वजानिक गर्ने उनी निकट स्रोतले बताएका छन्।
महामन्त्रीको उम्मेदार दिने घोषणा गरिसकेका नेता गगन थापा र प्रकाशमान सिंहको सम्बन्ध गत असोजमा भएको काठमाडौंको महानगरपालिकाको अधिवेशनमा एउटै समूहमा देखिएका कारण कांग्रेस बृतमा चर्चा नयाँ समूह बन्ने चर्चा चल्यो भने,त्यो समिकरणलाई अर्थपूर्ण तवरले पनि हेरियो।
काठमाडौंको राजनीतिका नेता सिंहको बलियो प्रभाव रहेको छ। काठमाडौमा सिंह समूह र पूर्व मन्त्री भिमसेनदास प्रधान समूहको टकराब हुने गर्दछ। प्रधान नेता कृष्ण सिटौला निकट मानिन्छन्। रोचक कुरो के रह्यो भने १३ औँ महाधिवेशनमा भिमसेनदास प्रधान र गगन थापा नेता सिटौलाको समूहमा थिए। प्रधान अहिले पनि सिटौला समूहमा छन्। तर थापा सिंह समूहसँग निकट देखिए।
यसरी सभापतिका र महामन्त्रीका उम्मेदार रहेका सिंह र थापाको निकटताले कांग्रेस बृतमा नयाँ समूह बन्न सक्ने चर्चा चल्न थालेका छन्। सिंह निकट स्रोत अनुसार पनि थापासँग अधिवेशनको सहकार्यमा छलफलले तिब्रता पाएको बताउँछन्। ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन, यो त पार्टीको आन्तरिक कुरा न हो,त्यसकारण गगनजी या अरु जो कोही होस्। महामन्त्रीको उम्मेदार बन्ने सम्भावना कायमै छ,’ सिंह निकट स्रोतले भन्यो।
सिंह किन गए दिल्ली ?
शुक्रबार पौडेल समूहले बोलाएको भेलामा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाएपछि उनी दिल्ली प्रस्थान गरेका थिए। नेपालको राजनीतिमा सधैं दिल्ली निर्णायक हुने चर्चा चल्ने गर्दछ। अधिवेशनको संघार र समूहको बैठक बहिस्कार गरेका सिंहको यो यात्रालाई पनि निकै अर्थपूर्ण तवरले हेरिएको छ। तर उनी शुक्रबार गएर शनिवार नै स्वदेश फर्किकसेका छन्।
उनको यो यात्रालाई राजनीतिक भ्रमण भन्दा पनि व्यक्तिगत भेटघाटका लागि गएका सिंह निकट स्रोतले बताएका छन्। उनले भने, ‘उहाँको भ्रमण कुनै राजनीतिक भ्रमण भन्दा पनि व्यक्तिगत कारणका लागि जानु भएको हो। तर राजनीतिक व्यक्ति भएका कारण स्वभाविक रुपमा आंशिक राजनीतिक भेटघाट पनि भयो।’
नेपाली कांग्रेसको महाधिवेशनका लागि ४ साता बाँकी रहँदा विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने तयारी थालिएको छ ।
१४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी धेरै भएपछि सभापतिमा दाबी गरिरहेका शीर्ष नेताहरू आन्तरिक व्यवस्थापनको चटारोमा छन् । आकांक्षी व्यवस्थापनका लागि पदाधिकारी संख्या थप गर्न विधान संशोधन गर्नेबारे शीर्ष तहमा संवाद भएको छ ।
त्यसमा अधिकांश नेताहरू सकारात्मक देखिएका छन् । शनिबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकमा पनि विधान संशोधनको विषयले प्रवेश पाएको थियो । कांग्रेसले हरेक महाधिवेशन र महासमिति बैठकमा विधानलाई परिमार्जन गर्दै आएको सन्दर्भमा आगामी महाधिवेशनमा पनि विधान संशोधनका लागि समिति बनाउन शीर्ष नेताहरू तयार देखिएका छन् । यसको आधिकारिक प्रस्ताव भने आज बस्ने केन्द्रीय समिति बैठकमा पेस हुने बताइन्छ ।
२ सहमहामन्त्री थपिने
कांग्रेसमा हाल ८ जना सहमहामन्त्रीको व्यवस्था रहेको छ । कांग्रेस विधानको परिच्छेद ७ को दफा २१ को ३ मा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलित महाधिवेशन प्रतिनिधिमध्येबाट एक, मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट एक, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट एक, थारु महाधिवेशन प्रतिनिधिमध्येबाट एक, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट एक र पिछडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक समेत निर्वाचित गरेका सहमहामन्त्री आठ जना हुने व्यवस्था गरेको छ ।
कांग्रेसमा सहमहामन्त्रीतर्फ समावेशी सिटहरु मात्रै भएकोले खुल्ला प्रतिस्पर्धीका लागि पनि २ सिट उपलब्ध गराउन शीर्ष नेताहरूलाई दवाव बढेको छ । ‘सबै टिममा पदाधिकारीका आकांक्षी धेरै छन् । सहमहामन्त्रीमा समावेशीमात्रै भयो खुल्ला पद भएन । त्यसैले खुल्ला सहमहामन्त्रीमा २ जना निर्वाचित गर्नुपर्छ भन्नेमा सिरियस छलफल भएको छ’, कांग्रेसका एक नेताले नेपाल प्रेससँग भने । ती नेताका अनुसार सर्वपक्षीय सहमतिमा बन्ने विधान संशोधन समितिमार्फत पदाधिकारी थप गर्नेगरी विधान संशोधन प्रस्ताव महाधिवेशनमा पेस गर्न नेताहरू सकारात्मक छन् ।
महिला उपसभापतिको पनि माग
कांग्रेसमा अहिले २ जना उपसभापतिको व्यवस्था छ । दुवै उपसभापति खुल्ला प्रतिस्पर्धाबाट चुनिनेछन् । कांग्रेसभित्र महिला उपसभापतिको व्यवस्था गर्नपनि दबाब बढ्दो छ । राज्यका प्रमुख निकायहरुमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरिएको सन्दर्भमा कांग्रेसमा पनि दोस्रो पदमा महिला प्रतिनिधित्व हुनुपर्ने आवाज पहिले पनि उठेको थियो । महाधिवेशनमा टिम व्यवस्थापनमा चुनौती खेपिरहेका नेताहरूको बैठकमा महिला उपसभापति थप गर्ने प्रस्ताव पनि पुगेको छ ।
‘पार्टीमा योगदान गरेका महिला नेतृहरु मूल नेतृत्वमै पुग्न अझ धेरै संघर्ष गर्नुपर्ने देखिन्छ । उपसभापतिमा महिला नेतृत्व स्थापित गरेर कांग्रेसले सकरात्मक सन्देश दिनुपर्छ । त्यसका लागि हामीले सबै नेताहरुलाई दबाब दिएका छौं’, एक महिला नेताले भनिन् ।
कांग्रेस शीर्ष नेतृत्वमा सबै पदाधिकारीका निर्वाचित हुँदा नयाँ सभापतिलाई असहज हुनसक्ने भन्दै केही पदाधिकारी मनोनीत गर्ने प्रावधान राख्नुपर्ने लबिङ पनि संस्थापन र इतर दुवै पक्षमा भइरहेको छ ।