रेडक्रसको विधान अधिवेशनमा दुई पक्षबीच हानाहान, एक दर्जनलाई प्रहरीले कब्जामा लियो

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कमिटीको विधान अधिवेशनमा दुई पक्षबीच झडप भएको छ। बबरमहलस्थित कार्की ब्याक्वेटमा भएको विधान अधिवेशमा दुई पक्षबीच झडप भएको हो।

झडपपछि अनिश्चतकालका लागि अधिवेशन रोकिएको वर्तमान कार्यसमितिका एक सदस्यले बताए। १६ जिल्लाको कार्यसमिति विघटन गरेपछि असन्तुष्टी बढेको थियो। असन्तुष्ट पक्ष आइतबार भएको कार्यक्रम हलमा विरोधमा उत्रिएको हो।

दुई पक्षबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको थियो। अहिले अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय सदस्य एवं भंग गरिएको भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, मन्त्री परशुराम पाण्डे, भक्तपुर शाखाका कार्यसमिति सदस्यहरु धर्मराज कार्की र सुरज मिश्रलगायत छन्। शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको पक्राउ परेका धर्मराज कार्कीले जानकारी दिए।

उनले रेडक्रस जस्तो निष्पक्ष र गैरराजनीतिक संस्थामा राजनीतीकरण गरिएको विरोधमा आफूहरु शान्तिपूर्ण प्रदर्शनमा आएका तर रेडक्रसका केन्द्रीय संयोजक नेत तिमिल्सेनाको ठाडो आदेशमा आफूहरुलाई प्रहरीले पक्राउ गरेको बताए।

नेपाल रेडक्रसमा आर्थिक अनियमितता भएकोलगायतका आरोपमा केपी शर्मा ओली नेतृत्वका सरकारले हस्तक्षेप गरी तिमिल्सेनाको संयोजकत्वमा नयाँ समिति बनाइएको थियो। सोही संयोजन समितिले भक्तपुरलगायत देशका दुई दर्जन बढी जिल्ला शाखाको मौजुदा कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति गठन गरेको थियो।

नेपाल रेडक्रसको विधानविपरीत निर्वाचित जिल्ला शाखाहरु भंग गरिएको विरोधमा आइतबार भएको विधान अधिवेशनस्थलमा शान्तिपूर्ण प्रदर्शन गरिएको थियो।