सर्बसम्मत चयन भएका यी हुन् रुपन्देहीका एमाले महाधिवेशन प्रतिनिधि

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

नेकपा एमालेको १० औँ महाधिवेशन चलिरहेको छ । चितवनमा हुने महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनोटको कार्य भइरहेकाे छ । रुपन्देहीका केही निर्वाचन क्षेत्रमा प्रतिनिधिको टुंगो लागे पनि केही निर्वाचन क्षेत्रमा टुंगो लाग्न बाँकी छ ।

जिल्लामा समाचार तयार पार्दासम्म क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिको टुंगो लागिसकेको छ । यी क्षेत्रबाट प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख लगायत चुनिएका छन् । क्षेत्र नम्बर २ मा सर्वसम्मत भए पनि क्षेत्र नम्बर १ मा भने निर्वाचन भएको पार्टीले जनाएको छ ।

जिल्लाको क्षेत्र नम्बर १ बाट देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, यज्ञ गैरे, ध्रुव खरेल, कृष्ण न्यौपाने, ऋषिराम सापकोटा र जागेश्वरी चौधरी निर्वाचित भएको जिल्ला कमिटिले जनाएको छ। यता पूर्व अर्थमन्त्री विष्णु पौडेलेको निर्वाचन क्षेत्रमा ५ गुणा बढीले मनोनयन दर्ता गराए पनि सर्वसम्मत प्रतिनिधि चयन भएको पार्टीले जनाएको छ । उम्मेद्वारी दिएका सबैले अन्य उम्मेद्वारलाई सहमति दिएसँगै सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष एवं बुटवलका मेयर शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की, प्रचार विभाग प्रमुख मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै महिलातर्फ बुटवल उपमहानगर उपप्रमुख गोमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी छनोट भएका छन्। जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधि छनोट हुने क्षेत्र नम्बर २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता गरेका थिए । दलित समुदायबाट कमलादेवी विश्वकर्मा, जोगलाल विश्वकर्मा र सुरेन्द्रश्री विश्वकर्मा चयन भएको नेकपा एमाले रुपन्देहीले जनाएको छ ।