सुनको भाउ बढेपछि बजारमा सुन अभाव, कति पुग्यो सुनको मूल्य ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

नेपाल सुनचाँदी महासंघले सुनको कोटा बढाउन आग्रह गरेको छ । अहिले बजारमा दैनिक ३० किलो सुनको माग रहेको छ ।

हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति बढाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउन महासंघले आग्रह गरेको छ ।

यस्तै, सुनको वितरण काठमाडौँ केन्द्रीत भएको भन्दै विकेन्द्रित गरी तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनु पर्नेमा अध्यक्ष शाक्यले जोड दिए । हाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।

नेपाली सुनचाँदी बजारमा केही दिनदेखि बढिरहेको मूल्य आइतबार पनि बढेको छ । आज छापावाल सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँ बढेको हो ।आज छापावाव सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य शुक्रबारका तुलनामा आज १० रुपैयाँ वृद्धि भएको छ । आज एक हजार २९५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।