चोरबाटो र दुला गौडा छेकेर भएपनि प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने यस्तो छ बारको तयारी

  • प्रकाशित मिति : २०७८ कार्तिक २८, आईतवार
  • chhanbin.com

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आज पनि सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज पनि उनलाई सर्वोच्च प्रवेश गर्न नदिन धर्ना दिने बताए ।

बारले गत शुक्रबार पनि गेटमै धर्ना दिएर प्रधानन्यायाधीश राणाको प्रवेश रोक्ने प्रयास गरेको थियो । सो क्रममा राणाका समर्थक र बारका धर्नाकारीबीच झडपसमेत भएको थियो । प्रहरीले राणाका समर्थकलाई पक्राउसमेत गरेको थियो ।

बारको धर्नाका कारण प्रधानन्यायाधीश राणा भने अर्को गेटबाट सर्वोच्च छिरेका थिए ।
प्रधानन्यायाधीश राणाले पदीय मर्यादा नाघेको आरोपमा बारले उनको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको छ । साथै, इजलास पनि बहिस्कार गरिहेको छ ।

राणाले भने राजीनामा नदिने अडान राखेका छन् । यसविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ ।

आन्दोलनकमा क्रममा बिहीबार पनि सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप हुँदा ७ जना घाइते भएका थिए । बार कानुन व्यवसायीहरूको छाता संगठन हो ।