जनकपुरमा हिन्दु-मुस्लिम बीच हानाहान, चार जना घाईते भए लगत्तै लाग्यो कर्फ्यू

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

जनकपुरधाम उपमहानगरपालिका-२० मा छठ पर्वका दिन अर्घ्य राख्ने विषयलाई शुरु भएको हिन्दू-मुस्लिमबीचको विवाद साम्य हुन नपाउँदै फेरि उग्र रुप लिएको छ। दुई समुदायबीचको विवाद उग्ररुप लिएपछि अवस्था तनावपूर्ण बनेको छ।

वडा नम्बर २० देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठपूजाका लागि घाट निर्माण गर्ने विषयमा विवाद भएको थियो। छठपूजाकै दिन त्यहाँ झडप पनि भएको थियो। यद्यपि प्रहरीले त्यो दिन विवाद साम्य पार्न सफल भएको थियो।

सोही विषयलाई लिएर फेरि शनिबार मुस्लिम र हिन्दु समुदायबीच विवादले उग्र रूप लिएर झडप भएको छ। झडपका क्रममा ३ प्रहरीसहित ४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा एक जना नेपाल प्रहरी, २ जना सशस्त्र प्रहरी र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

एक घाइते प्रहरीको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जनभन्दा बढी राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति व्यवस्था कायम राख्न २४ घण्टाका लागि निषेध आदेश लगाएको छ। जिप्रका धनुषाले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि आईतबार दिउँसो २ बजेसम्म लागू हुने गरी निषेध आदेश लगाएको हो।

पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म लागू हुने गरी निषेध आदेश लगाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

किन हुन्छ हिन्दू-मुस्लिम विवाद ?

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने देवपुरा रुपैठामा भएको हिन्दू मुस्लिमबीचको विवाद कुनै नयाँ विषय होइन। यहाँ प्रत्येक वर्ष हिन्दूधर्माबलम्बीहरु दसैँमा मूर्ती सेलाउने क्रममा होस् वा इस्लाम धर्माबलम्बीहरुले ताजिया खेल्ने क्रममा प्रत्येक वर्ष त्यहाँ हिन्दू-मुस्लिमबिच साम्प्रदायिक विवाद हुँदै आईरहेको छ। यस वर्ष दशैँमा त्यहाँ कुनै अप्रिय घटना नहुँदा स्थानीय खुशी थिए। तर त्यो खुशी छठ पर्व आउँदासम्म समाप्त भएको छ।

रुपैठामा हिन्दू धर्माबलम्बीहरु तेलिया पोखरीमा छठ पर्व प्रत्येक वर्ष मनाउँदै आईरहेका छन्। सोही पोखरीको डिलभन्दा केही पर मुस्लिम समुदायका व्यक्तिहरु समेत बसोबास गर्छन्। छठ पर्वका दिन घाट निर्माणकै क्रममा एकाएक दुई समुदायबीच भनाभनबाट शुरु भएको विवाद झडपमा परिणत भएको एक स्थानीयले बताए। त्यो दिन झडपमा परेर ४ जना घाइते भएका थिए। त्यो दिन प्रहरीले जसोतसो स्थितिलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक रजौरेले बताए।

यद्यपि शनिबार आज केही हिन्दूवादी संगठनहरु प्रदर्शन गर्दै रुपैठामा पुगेपछि फेरि विवाद शुरु भएको थियो। रुपैठामा एक समुदायले अर्को समुदायलाई दबाएर राख्ने प्रयास गर्दा विवाद हुने गरेको छ।