२९५ जनामा कोरोना बिरामी थपिदा २ को ज्यान गयो, मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुग्यो

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी-पीसीआर र एन्टिजेन विधिबाट आठ हजार २४३ जनाको नमूना परीक्षण गर्दा शनिबार २९५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पाँच हजार २२५ जनाको पीसीआर र तीन हजार १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २६० र एन्टिजेन परीक्षणबाट ३५ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।

गत २४ घण्टामा ४७८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल देशभर हाल सात हजार २७८ जना सक्रिय संक्रमित रहेका छन्।