भोली देखि फाइजर खोप लगाइने, कसले लगाउन मिल्छ कसले मिल्दैन ? कहाँ-कहाँ लगाइन्छ ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

आइतबारदेखि पहिलोपटक फाइजर खोप दिइदैंछ। सरकारले कार्तिक २८ गते आइतबारदेखि अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत प्राप्त भएको एक लाख मात्रा फाइजर–बायोएनटेक खोप लगाउने अभियान सुरु गर्दैछ।

देशभरका २४ अस्पतालबाट खोप दिने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ। काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको छ।

के हो फाइजर–बायोएनटेक खोप ?

फाइजर–बायोएनटेक खोप भायलमा उपलब्ध हुन्छ र यो खोप जमेको अवस्थामा बाक्लो झोलको रुपमा हुन्छ। यो खोप सामान्य अवस्थामा झोल सेतो वा हल्का धमिलो सेतो रङ्गको हुन्छ। यो खोप लगाउनुभन्दा पहिला घोल्नुपर्दछ। एउटा भायल घोल्नको लागि १.८ मि.लि. घोलक जरुरी हुन्छ। घोलेपछि एक भायलमा ६ मात्रा हुन्छ। खोप विज्ञहरुका अनुसार यो खोपको एक मात्रामा ०.३ मि.लि. हो र सुईद्वारा मासुभित्र दिनुपर्छ। खोप दुई मात्रा लगाउनु पर्दछ। यो खोप २१ देखि २८ दिनको फरकमा दुई मात्रा दिनु पर्दछ। दुई मात्रा लगाएमा यसको प्रभावकारिता ९५ प्रतिशत भएको अध्ययनले देखाएको छ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार यो खोपका लागि फरक किसिमको कोल्डचेन व्यवस्थापन गर्नु पर्दछ। खोप १२ वर्ष उमेरभन्दा माथिका व्यक्तिहरूलाई दिन मिल्छ।

आइतबारदेखि फाइजर खोप लगाइँदै : क-कसलाई दिइदैछ ? 

खोप राखिएको भ्याक्सिन क्यारियरमा कण्डिसनिङ गरिएको ४ वटा आइसप्याक भएको सुनिश्चित गर्नुपर्दछ। नखोलेको खोप भायल राख्न एउटा भ्याक्सिन क्यारियर र घोलेको खोप भायल भ्याक्सिन क्यारियर भित्रको फोम प्याडमा राख्न अर्को भ्याक्सिन कायारियर जरुरी हुन्छ। खोप प्रयोग गर्न मिल्ने अवधि उल्लेख गरिएको लेबल जाँच गर्नुपर्दछ। भ्याक्सिन क्यारियरबाट एक पटकमा एउटा मात्र खोप भायल निकाल्नु पर्दछ। सुर्यको प्रकाश नपर्ने गरी भ्याक्सिन क्यारियरबाट खोप निकाल्नु पर्दछ। खोप घोल्नुभन्दा अघि खोप र घोलक कम्तिमा १२ घण्टा समान तापक्रम (२ डिग्रीदेखि ८ डिग्री सेल्सियस) कायम भएको यकिन गर्नुपर्दछ। एक पटकमा एउटा मात्र भायल घोल्नुपर्दछ। खोप भायलमा घोलेको मिति र समय उल्लेख गर्नुपर्दछ।

फाइजर–बायोएनटेक खोप लगाउन नहुने अवस्था

कोभिड–१९ विरुद्धको अन्य कुनै खोप लगाएको, १२ वर्षभन्दा कम उमेरको व्यक्ति, यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (जस्तै एनाफाइलेक्सिस्), पहिला अन्य कुनै कारणबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका, कोभिड–१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउनु हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ।

कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर यस प्रकारको अवस्था ठीक भएपछि यो खोप लगाउन हुन्छ।

खोप लगाएपश्चात् अनपेच्छित घटना

सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुनिने, टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने, मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने, खान मन नलाग्ने र वाकवाकी लाग्ने, थकाई लाग्ने, सुई लगाएको हातको काखिको ग्रन्थी सुनिने र दुख्न सक्छ। यी सामान्य असरहरू २–३ दिनपछि आफै ठिक हुन्छन्। ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने भएमा सिटामोल औषधी खाएपछि ठिक हुन्छ।

– एनाफाइलेक्सिस्

–मायोकार्डाइटिस, पेरीकार्डडाइटिस

–शरीरमा साना विवरा आउने र चिलाउने, शरीरभरी डावर आउने र चिलाउने, अनुहार सुन्निने लक्षणहरू देखिन सक्छन्

–पखाला लाग्ने, वान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बहोस हुने जस्ता लक्षणहरू देखिन सक्छन।

खोपको प्राथमिकतामा को ?

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार लामो समयदेखि मुटुको बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी खोपको प्राथमिकतामा पर्नेछन्। यस्तै, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी पनि प्राथमिकतामा परेका छन्।

कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृति आदि) लागेका व्यक्ति पनि प्राथमिकतामा पर्नेछन्। खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई खोप लगाइने कार्यक्रम रहेको छ। यो कार्यक्रम भने मंसिर ५ देखि ७ गतेसम्म चल्ने छ।

कहाँ कहाँ लगाइन्छ ?

वीर अस्पताल, निजामती सेवा अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल, मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ। यस्तै, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताललाई खोप केन्द्र तोकिएको छ।