समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलामै भयो लफडा, क-कसले गरे बहिष्कार ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलामा विवाद छताछुल्ल भएको छ। संस्थापक नेता तथा संगठन आवद्ध क्रियाशील पत्रकारले भेला बहिष्कार गरेका छन्।

एमाले निकट प्रेस चौतारीका तत्कालीन उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) मा लागेका पदाधिकारी र सदस्यले नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै भेला बहिष्कार गरेका हुन्।

काठमाडौँको अर्पण पार्टी प्यालेसमा जारी भेला विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन बिसी, रामकुमार शाही, भवानी कार्की, तेजप्रसाद वाग्लेलगायतले बहिष्कार गरेका छन्। सुवेदी र साउद चौतारीका उपाध्यक्ष तथा एलन उपमहासचिव थिए। चौतारीबाट विद्रोह गरेका नेताहरुले शम्भु श्रेष्ठलाई अध्यक्ष माने पनि वरिष्ठ उपाध्यक्षमा विश्वमणि सुवेदी, दोस्रो वरियताको उपाध्यक्षमा नरेन्द्र साउद र महासचिवव रामकुमार एलनलाई प्रस्ताव गरेका थिए।

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ र महासचिवमा भुपराज खड्काको नाम घोषणा हुन लागेपछि साविक चौतारीका पदाधिकारीले बहिष्कार गरेर बाहिरिएका हुन्।

घोषणासभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा धेरैको आकर्षण रहेको बताए। संगठन विस्तारमा राम्रो चासो र आकर्षण देखिएको भन्दै उनले राम्रो काम गर्न, गलत बाटोमा नलाग्न आग्रह गरे।