निधिको निधोले देउवालाई हान्यो हजार भोल्टको करेन्ट, पौडेलको कोशिशमा कसले दियो धक्का ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २७, शनिबार
  • chhanbin.com

महाधिवेशनको मिति नजिकिँदै जाँदा पदाधिकारीको उम्मेदवारीको घेरा साँघुरिँदै जानुपर्नेमा कांग्रेसको संस्थापन र इतर समूहभित्र दरार बढ्न थालेकाे छ । आफूलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयत्न गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैको समूहमा दरार उत्पन्न भएको हो । उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहले सर्वसम्मत उम्मेदवार बन्ने देउवा र पौडेलको कोशिशमा धक्का दिएका छन् ।

महाधिवेशनको मुखमा सभापति देउवाले आफूनिकट नेताहरूको भेला बिहीबार बोलाएका थिए । त्यस भेलामा निधिले १४औँ महाधिवशेनको बाचा स्मरण गराउँदै देउवालाई आफूले दावेदारी नछोड्ने जानकारी गराइसकेका छन् । उनले भनेका थिए, ‘तपाईंले मलाई १४औँ महाधिवेशनमा सहयोग गर्छु भन्नुभएको थियो । म सभापतिमा लड्दैछु सहयोग गर्नुपर्‍यो ।’

निधिको कुरा सुनेपछि देउवाले उनलाई शुभकामना दिए । निधिले सभापतिबाट शुभकामना पाउनु आफ्नो लागि सुखद रहेको सुनाएपछि देउवाले उनलाई भने, ‘मैलै १५औँ महाधिवेशनका लागि शुभकाना दिएको हुँ ।’

त्यसपछि निधिले आफूले दावेदारी नछोड्ने अडान राख्दै देउवालाई कटाक्ष गरेका थिए- तपाईंलाई ज्योतिषले पटक-पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको हो । सभापति त होइन नि।’

सभापतिमा दाबी नछोड्ने सन्देश दिएर बिहीबार बालुवाटारबाट निधि बाहिरिएपछि सर्वसम्मत उम्मेदवार तयका लागि देउवाले बोलाएको रणनीतिक बैठक फलदायी हुन सकेन । निधिले देउवाले सरकार सञ्चालनमा समन्वय गर्न उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन र आगामी निर्वाचनमा अन्य दलसँग तालमेलको तयारीप्रति आपत्ति जनाएका थिए ।

‘कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ । वर्तमान संसद कायम रहेसम्म गठबन्धन ठीक छ । आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्‍नुपर्छ,’ निधिले भनेका थिए । सभापतिमा दाबी नछोड्ने निधिको निधोले महाधिवेशनको मुखमा देउवा समूह अप्ठ्यारोमा छ ।

यद्यपि उनीनिकट नेताहरू भने यसलाई समूहमा दरारको रूपमा बुझ्न नहुने बताउँछन् । कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महत पनि सभापति देउवाले अन्तिम समयमा सबै व्यवस्थापन गर्नेमा ढुक्क छन् । ‘लोकतान्त्रिक पार्टीमा व्यक्तिका फरक मत आउनु स्वभाविक हो । सभापतिको निर्णयको आलोचना हुँदैमा वा कसैले पदमा दावेदारीको अधिकार प्रयोग गर्दैमा फाटो आयो भन्न मिल्दैन । सभापतिजी अनुभवी नेता हो । उहाँले अन्तिम समयसम्म सबैको उचित व्यवस्थापन गर्नुहुन्छ,’ महत भन्छन् ।

समय अझै बाँकी रहेकाले साझा उम्मेदवारमा सहमतिको सम्भावनालाई नकार्न नमिल्ने नेता मीन विश्वकर्मा बताउँछन् । ‘महाधिवेशनमा जुनसुकै पदमा दावेदारी प्रस्तुत गर्ने अधिकार सबैलाई छ । विमलेन्द्र निधिले पनि आफ्नो अधिकारको प्रयोग गर्छु भनेर सभापतिलाई जानकारी गराउनुभएको हो । समय अझै बाँकी छ, अन्तिम समयसम्म सहमति जुट्ने सम्भावना पनि रहन्छ । सर्वसम्मत उम्मेदवारको सम्भावना सकिएको छैन,’ उनले भने ।

यता, पौडेल समूहमा पनि नेता प्रकाशमान सिंहले चुनौती थपिदिएका छन् । महाधिवेशनको मुखमा उनले पौडेलप्रति असहमति जाहेर गर्दै रणनीतिक बैठकमा सहभागिता जनाएनन् । मन्त्री भागबण्डाको विषयदेखि सिंह पौडेलसँग असन्तुष्ट देखिएका थिए । आफूनिकट नेता राजन केसीलाई मन्त्री बनाउने चाहना पूरा नभएपछि सिंह रूष्ट थिए । पौडेल उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक बनेपछि असन्तुष्टि झन् चुलिएको छ ।

‘कम्युनिस्ट पार्टीमा जस्तो संयन्त्र किन चाहियो । पार्टीभित्र कुनै पनि छलफल नगरेर यस्तो संयन्त्र किन बनाइयो,’ उनको प्रश्न थियो । आफू संयोजक बन्ने भएपछि पौडेलले पार्टीभित्र कुनै पनि छलफल नगरेको सिंहको बुझाइ छ । सिंहले आफ्नो छुट्टै प्यानल बनाउने तयारी गरेको उनीनिकट नेता केसी बताउँछन् ।

सभापतिको उम्मेदवारीमा पहिलेदेखि नै दाबी गरिरहेकाले छुट्टै प्यानल बन्ने सम्भावना पनि रहेको उनको भनाइ छ । ‘पार्टीको निर्वाचित महामन्त्री, सरकारको उपप्रधानमन्त्री भइसकेको व्यक्तिले बार्गेनिङका लागि मात्रै भनिरहनुभएको छ जस्तो मलाई लाग्दैन । पहिलेदेखि नै सभापतिमा दाबी गरिरहेको र परामर्श गरिरहेकाले उहाँले केही कदम चाल्न सक्नुहुन्छ,’ उनले भने ।

सिंह मात्रै होइन, पौडेललाई कोइराला परिवारभित्रैबाट पनि चुनौती छ । कोइराला परिवारबाट महामन्त्री सशांक कोइराला र शेखर कोइरालाले सभापतिमा दाबी पेस गरिरहेका छन् । आफूलाई मन्त्री नबनाएपछि नेतृ सुजाता कोइरालाले पौडेललाई नेता मानेर अघि बढ्‍न नसक्ने बताइसकेकी छिन् ।

समूहभित्र उत्पन्न यस्तो परिस्थितिका बाबजुद पनि नेता गुरुराज घिमिरे सुदृढ कांग्रेसका लागि सहमति जुट्ने बताउँछन् । ‘हाम्रो एजेण्डा भनेको बलियो कांग्रेस हो । कांग्रेसलाई सुदृढ बनाउन हामी प्रयत्नशील छौँ । नेतृत्वमा आकांक्षा राख्नु स्वभाविक हो । आकांक्षीबीचबाट उत्तम उम्मेदवार हामी चयन गर्नेछौँ,’ उनले भने ।

पौडेल समूहले शुक्रबार बत्तीसपुतलीमा राखेको भेलामा पनि सर्वसम्मत नेतृत्व चयनमा केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका थिए ।