अदालत प्रवेशमा रोक लगाउन नसकेपछि सन्किएका बार अध्यक्षले बालुवाटारमा छिर्न नदिने दिए चेतावनी

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा मात्रै नभई अब बालुवाटारमा छिर्न नदिने चेतावनी दिएका छन् ।

बार एसोसिएसनले शुक्रबार गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बिचौलिया भेट्ने प्रधानन्यायाधीश जबरालाई अब बालुवाटारमा बस्ने अधिकार नभएको पनि बताए ।

आफूहरूले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश निषेध गरिसकेको बताउँदै श्रेष्ठले भने, ‘यहाँ न्यायाधीशलाई नभेट्ने उता बालुवाटारमा भने बिचौलिया भेट्ने ? अब तिमीलाई सर्वोच्चमा मात्र होइन, बालुवाटारमा समेत प्रवेश निषेध गर्छौं ।’

उनले आफूहरूले जबरालाई न्यायाधीश नै नमानेको पनि बताए । ‘हामीले सर्वोच्चमा प्रवेश निषेध गरिसकेका छौँ । हामीले तपाईंलाई न्यायाधीश मानेका छैनौँ,’ उनले भने, ‘अब तपाईंलाई बालुवाटारमा बस्ने अधिकार छैन ।’

अध्यक्ष श्रेष्ठले जबरा प्रधानन्यायाधीशमा कायम रहेसम्म सेवाग्राहीले न्याय नपाउने बताए । ‘ यी प्रधानन्यायाधीश जबसम्म रहन्छन्, तबसम्म सेवाग्राहीले अन्याय पाउँछन् । त्यसैले अब न्यायको ढोका खोल्न तपाईंहरू पनि अगाडि आउनुहोस्,’ उनले अपिल गर्दै भने । अध्यक्ष श्रेष्ठले आइतबार फेरि आफूहरूले सर्वोच्चको गेटमा धर्ना दिने बताए ।