‘चोर बाटो’ बाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणाले तोके आठ इजलास,आलमको मुद्दा सुनुवाई हुने

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

नेपाल बार एसोसिएसनको निषेध आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका छन् । राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणाकाबीच जबराले मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन् ।
नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानुन व्यवसायीहरू यतिबेला सर्वोच्च अदालतको मुल गेटमा धर्नामा छन् । तर, जबराले भने आठ वटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन गरेका छन् ।

जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीर विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्धामा आज सुनुवाई हुँदैछ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको थियो ।

उक्त आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको मुद्दा न्यायाधीशहरु दीपककुमार कार्की र कुमार चुँडालको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

के छ आलमलाई अभियोग ?

२७ चैत ०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेसँगै कांग्रेस सांसद मोहम्मद आफताव आलमविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

सरकारी वकिल कार्यालयले आलमलाई ४५ वर्ष जेल सजाय माग गर्दै रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा परेर घाइते भएकालाई इँटाभट्टामा जिउँदै हालेर जलाएको अभियोग आलममाथि छ ।

इँटाभट्टामा जिउँदै जलाइएका त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा सरकारी वकिल कार्यालयले २५ वर्ष जेल सजायको माग गरेको छ ।

त्यस्तै, सर्लाहीका सफी अहमदलाई बम विस्फोट गराई ज्यान मार्ने उद्योग गरेकोसम्बन्धी मुद्दामा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष कैदको माग गरेर मुद्दा दर्ता भएको थियो ।