बैंकमा राखेको पैसा धमाधम बाहिरिन थाल्यो, २१ दिनमै ३१ अर्ब झिकियो

  • प्रकाशित मिति : २०७८ कार्तिक २६, शुक्रबार
  • chhanbin.com

चरम तरलता अभाव भइरहेकै बेला झन् बैंकमा राखेको पैसा पनि बाहिरिएको छ । बैंकहरुले थप निक्षेप संकलन गर्न नसकिरहेको बेलामा भएकै पैसा पनि धमाधम बाहिरिन थालेको हो ।

नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिकको पछिल्लो ३ सातामा मात्रै बैंकिङ प्रणालीबाट ३१ अर्ब रुपैयाँ निक्षेपले बाहिरिएको हो ।

कात्तिक पहिलो साता २० अर्ब, दोस्रो साता २ अर्ब र तेस्रो सातामा ९ अर्ब निक्षेप बाहिरिएको संघले जनाएको छ । असोज मसान्तसम्म बैंकहरुमा कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक १७ गतेसम्म आउँदा घटेर ४२ खर्ब ३८ अर्बमा सीमित भएको छ ।

मात्रमा ठूलो निक्षेप बाहिरिएसँगै आक्रमक कर्जा विस्तार गर्दै आएका बैंकहरुको कर्जा विस्तार पनि सुस्त भएको छ । पछिल्लो ३ सातामा ३१ अर्ब निक्षेप बाहिरिँदा बैंकहरुले जम्मा २७ अर्ब मात्र कर्जा प्रवाह गरेका छन् । कात्तिक तेस्रो सातासम्म बैंकहरुले कुल ४० खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

निक्षेपलाई आकर्षित गर्न मंसिरदेखि लागू हुनेगरी मुद्दतीमा केही ब्याजदर बढाउने बैंकहरुले तयारी गरिरहेका छन् ।

निक्षेप घट्न थालेपछि कात्तिकको ब्याजदरमा बढाबढ गरेर बैंकले ११ प्रतिशतसम्म पुर्‍याएका थिए । तर, राष्ट्र बैंकले हस्तक्षेप गरेपछि निक्षेपमा बैंकको ब्याजदर अधिकतम ९.३६ प्रतिशत मात्रै रहेको छ।