नेप्से ओरालो लाग्दा पनि यी कम्पनीलाई भने भयो मालामाल, कुनले कति कमाए ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

तिहारपछि शेयरबजार राताम्मे बनिरहेको छ । यो साता बजार खुलेको तीनै दिन बजार राताम्मे बनेको हो । नेप्से घटेपछि अधिकांश लगानीकर्ताले गुमाए । तर यो समयमा कमाउने लगानीकर्ता पनि छन् । बजार घटे पनि केही कम्पनीको शेयर मूल्य भने उकालो लागेको छ ।

बिहीबार मात्रै कारोबारमा आएका १६ कम्पनीका लगानीकर्ताको सम्पत्ति थपियो जबकी १७१ कम्पनीका लगानीकर्ताले भएको सम्पत्ति गुमाउन पुगे । बिहीबार नेप्से सूचक ५९.५७ अंकले घटेर २६९०.२९ अंकमा पुगेर बन्द हुँदा २२५ कम्पनीको ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता शेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रुपैयाँमा कारोबार भयो । सो कारोबारबाट १६ वटा कम्पनीको शेयरमूल्य बढ्यो भने १७१ कम्पनीको शेयरमूल्य घट्यो ।

कारोबारमा आएका सबै समूह राताम्मे बनेपछि बिहीबार कमाउने कम्पनी पनि कम भए ।

बिहीबारको कारोबारबाट मानुसी लघुवित्तको शेयर मूल्य १० प्रतिशत अर्थात ८४ रुपैयाँ बढेको छ । योसँगै तेह्रथुम पावर कम्पनीको ९.९९ प्रतिशत अर्थात ३६ रुपैयाँ, साहस उर्जाको ७.६४ प्रतिशत अर्थात ५४ रुपैयाँ, गुडवील फाइनान्सको ३.९३ अर्थात ३१ रुपैयाँ, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३.४४ प्रतिशत अर्थात ४७ रुपैयाँले शेयर मूल्य बढेको छ ।

त्यस्तै पाँचथर पावर कम्पनीको १४ रुपैयाँ, युनिलिभरको ३ सय ८१ रुपैयाँ, रुरु जलविद्युतको १७ रुपैयाँ, कर्पोरेट विकास बैंकको १३ रुपैयाँ, बोट्लर्स नेपालको १ सय ५० रुपैयाँ, मेघा बेंकको ३ रुपैयाँ, विजया लघुवित्तको ५ रुपैयाँ, जिवन विकास लघुवित्तको १० रुपैयाँ र हिमालयन डिष्टिलरीको १० रुपैयाले शेयर मूल्य बढेको छ ।

नेप्से घटेपछि अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बिहीबार आईसीएफसी र महालक्ष्मी विकास बैंकको सर्किट लेबलमा शेयर मूल्य घटेको छ । यी कम्पनीको क्रमशः ९.९९ प्रतिशत अर्थात ९५ रुपैयाँ र ७९ रुपैयाँले शेयर मूल्य घटेको हो ।

त्यस्तै सिवश्री हाइड्रोपावरको २८ रुपैयाँ, बरुण हाइड्रोको ३० रुपैयाँ, युनियन हाइड्रोको २४ रुपैयाँ, विशाल बजारको १ सय ९५ रुपैयाँले शेयर मूल्य घटेको छ ।

आजको कारोबारमा लगानीकर्ताको भीड महालक्ष्मी विकास बैंकमा बढी देखिएको छ । यो कम्पनीको सर्वाधिक कारोबार भएको हो । एकैदिन महालक्ष्मी विकास बैंकको ४७ करोड ४९ लाख ३४ हजार ५ सय २१ रुपैयाँको शेयर लगानीकर्ताले किनबेच गरे ।

त्यस्तै नबिल बैंक, आईसीएफसी र अपी पावर कम्पनीको पनि बढी कारोबार भएको छ । यी कम्पनीको क्रमशः ३१ करोड, २९ करोड, १४ करोड रुपैयाँ बराबरका शेयर किनबेच भयो ।