लाभांश घोषणा गर्न बैंकहरु बीच चल्यो प्रतिष्पर्धा, कुन बैंकले कति दिने भए ? (विवरण सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

२७ वाणिज्य बैंकहरुमध्ये २१ वटाले लाभांश घोषणा गरेका छन्। यसमध्ये केहीले त राष्ट्र बैंकबाट स्वीकृति पाएर साधारणसभाबाट पारित गरी वितरण नै गर्न भ्याएका छन्।

लाभांश घोषणा गरेकामध्ये नबिल बैंकको सर्वाधिक ठूलो आकारको ३८ प्रतिशत लाभांश रहेको छ। त्यसपछि हिमालयन बैंकले पनि आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैंकहरु

नबिल बैंक (३८ प्रतिशत)

नबिल बैंकले आफ्ना सेयरधनीलाई ठूलो आकारको लाभांश बाँड्ने भएको छ।
बैंकले नगद र बोनस गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय हो। मंगलबार बैंकको सञ्चालक समितिको बैठक बसेको थियो। सोही बैठकले गत वर्षको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसअनुसार ३३.६० प्रतिशत बोनस सेयर तथा ४.४० प्रतिशत नगद लाभांश वितरण गरिनेछ। बैंकले गत वर्ष पनि ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

उक्त निर्णय भए पनि यसलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि हुने बैंकको वार्षिक साधारणसभापछि मात्रै सेयरधनीले पाउनेछन्। नबिलले दिनलागेको यो लाभांश वाणिज्य बैंकहरुमध्येकै धेरै हो। बैंकसँग अहिले १३ अर्ब ८४ करोड बढीको चुक्ता पुँजी छ।

नेपाल इन्भेष्टमेन्ट बैंक (१६ प्रतिशत)

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश बाँड्दै छ। बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश बाँड्नलागेको हो। बैंकको यही २३ गते बसेको सञ्चालक समितिको ५५६औँ बैठकले आगामी मंसिर १७ गते ३५औँ वार्षिक साधारणसभा बोलाइसकेको छ। सो साधारणसभामा पारित भएपछि सेयरधनीले बोनस र नगद लाभांश पाउनेछन्।

बैंकको हालको चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५ सय रुपैयाँ रहेको छ। बोनस बाँडेपछि बैंकको जारी र चुक्ता पुँजी वृद्धि हुनेछ। बैंकले १८ अर्ब ५० करोड अधिकृत पुँजी बनाउँदै छ।

लक्ष्मी बैंक लिमिटेड (११.५ प्रतिशत)

लक्ष्मी बैंकको आज बसेको २४९औँ सञ्चालक समिति बैठकले ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसमा ८ प्रतिशत बोनस सेयर (८५ लाख ५६ हजार ५ सय ५१.८९ कित्ता) र साढे ३ प्रतिशत (३७ करोड ४३ लाख ४९ हजार १ सय ४५ रुपैयाँ) नगद (कर प्रयोजन समेत) समावेश छ।

राष्ट्र बैंकबाट यो निर्णय स्वीकृत भएपछि बस्ने बैंकको आगामी वार्षिक साधारणसभा बैठकले पारित गरेसँगै सेयरधनीलाई प्रस्तावित लाभांश वितरण हुनेछ।

प्रभु बैंक (१२.६३ प्रतिशत)

प्रभु बैंकले १२.६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। यसअनुसार आव २०७७/०७८ मा कायम चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २ सय ९९ रुपैयाँको १२ प्रतिशतले हुने १ अर्ब ३६ करोड १६ लाख ४६ हजार ८ सय ७६ रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशतले हुने ७ करोड १६ लाख ६५ हजार ६ सय २५ रुपैयाँ नगद लाभांश सेयरधनीले पाउनेछन्। राष्ट्र बैंकको स्वीकृतिपछि हुने बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।

मेगा बैंक (१२.०७ प्रतिशत)

मेगा बैंकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ।बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम भएको १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश सेयर दिने निर्णय गरेको हो।

प्रस्तावअनुसार एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश सेयर दिइनेछ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् लाभांश सेयर वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए।

एनएमबी बैंक (१५.८ प्रतिशत)

एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १५ दशमलव ८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट चुक्ता पुँजीको १२ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने निर्णय गरेको हो।

बैंक अफ काठमाण्डू (१४ प्रतिशत)

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ। बैंकले आव २०७७/०७८ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि बैंकको २७औँ वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ।

बैंकले नगद लाभांशतर्फ ३८ करोड ६३ लाख बढी र ९६ करोड ५८ लाख बढीको बोनस सेयर वितरण गर्नेछ।

एनआईसी एसिया बैंक (१५.७८९ प्रतिशत)

एनआईसी एसिया बैंक लिमिटेडले चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (रू. १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरिएको छ।

बैंकको सञ्चालक समितिको मिति सोमबार सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट सो लाभांश प्रस्ताव गरिएको हो।

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनस सेयर (रू. १ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (रू. ९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४औँ वार्षिक साधारणसभाबाट स्वीकृतिपश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

सिद्धार्थ बैंक (१५ प्रतिशत)

सिद्धार्थ बैंकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको छ। बैंकको यही कात्तिक ७ गते अपराह्न बसेको सञ्चालक समितिको ३८१औँ बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लागू हुने गरी बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँबाट १४.२५ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड २१ लाख २७ हजार ६ सय ३६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत अर्थात् ८ करोड २२ लाख १७ हजार २ सय ४४ रुपैयाँ नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।

नेपाल बैंक (१७ प्रतिशत)

नेपाल बैंक सञ्चालक समितिको कात्तिक ७ गते आइतबार साँझ बसेको बैठकले सेयरधनीलाई लाभांश बाँड्ने निर्णय गरेको छ।

बैंकका अनुसार सेयरधनीलाई आव २०७७/०७८ को वित्तीय विवरणअनुसारको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँको १७ प्रतिशत लाभांश बाँड्ने निर्णय भएको हो।यसअनुसार १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) दिन लागिएको हो।

उक्त निर्णय भए पनि नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृतिपछि हुने बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ।

नेपाल बंगलादेश बैंक (१५.५ प्रतिशत)

नेपाल बंगलादेश बैंकले लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको गत असोज २४ गते बिहान बसेको ३७५औँ सञ्चालक समिति बैठकले साढे १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार १२ प्रतिशत बोनस सेयर र साढे ३ प्रतिशत (करसहित) नगद लाभांश बाँड्ने निर्णय गरिएको छ।

यद्यपि यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लागू हुनेछ।

हिमालयन बैंक (२६ प्रतिशत)
हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

गत असोज २० गते बसेको बैंक सञ्चालक समितिको ४१२औँ बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ।

बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्षयताकै उच्च हो।

कुमारी बैंक (८.६७ प्रतिशत)

कुमारी बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बैंकले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ।
बैंककोे सञ्चालक समितिको बैंकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

सिटिजन्स बैंक (१६ प्रतिशत)

सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंकका लगानीकर्ताले १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र ३ दशमलव ०८ प्रतिशत नगद लाभांश पाउने भएका हुन्।

सानिमा बैंक (१७.८९ प्रतिशत)

सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ० दशमलव ८९ प्रतिशत नगद बाँड्नलागेको हो।

माछापुच्छ्रे बैंक (१४ प्रतिशत)

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। १३ दशमलव ३ प्रतिशत बोनस सेयर र ० दशमलव ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

प्राइम कमर्सियल बैंक (१६.६३१३ प्रतिशत)

प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई आव २०७७/०७८ को मुनाफाबाट प्रतिसेयर १६.६३१ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ। यसमध्ये १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३१३ प्रतिशत –अघिल्ला वर्षका लाभांशमा कर तिर्नुपर्ने तर असुल हुन छुटेका तथा यस वर्ष कर तिर्नुपर्ने सेयरधनीको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश दिने प्रस्ताव गरिएको छ।

सनराइज बैंक (७ प्रतिशत)

सनराइज बैंकले आव २०७७/०७८ मा आर्जित मुनाफाबाट कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसअनुसार ६.६५ प्रतिशत बोनस सेयर (६३ करोड ९ लाख ४८ हजार ३ सय ९ रुपैयाँ २१ पैसा) र शून्य दशमलव ३५ प्रतिशत (३ करोड ३२ लाख ७ हजार ८ सय ५ रुपैयाँ ७५ पैसा) नगद लाभांश गरी कुल ६६ करोड ४१ लाख ५६ हजार १ सय १४ रुपैयाँ ९६ पैसाबराबरको लाभांश बाँड्नेछ।

एभरेष्ट बैंक (१०.३२ प्रतिशत)

एभरेष्ट बैंकले आव २०७७/०७८ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

यसअनुसार ४.३२ प्रतिशत बोनस सेयरमा लाग्ने करसहितको नगद लाभांश र ६ प्रतिशत बोनस सेयर समावेश छ। बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १ सय ७८ रुपैयाँ छ।

ग्लोबल आईएमई बैंक (साढे १३ प्रतिशत)

ग्लोबल आईएमई बैंक लिमिटेडले साढे १३ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ। गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको हो।

यसअनुसार सेयरधनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद पाउनेछन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ।

गत असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद लाभांश बाँड्न लागेको हो।