नयाँ पाठ्यक्रम लागू गर्ने यस्तो छ सरकारी तयारी, पाठ्यपुस्तक लेखनको काम अन्तिम चरणमा

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक शत्रबाट सुरु गर्न लागेको कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लेखनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

केन्द्रले तयार गरेको पाठ्यक्रम अनुसार पुस्तक प्रकाशनकालागि जनक शिक्षा सामग्री केन्द्रलाई सफ्ट कपी उपलब्ध गराउने र केन्द्रले नयाँ शैक्षिक सत्र अगावै नै पाठ्यपुस्तक छपाई गरेर विक्रीवितरण गरेसँगै विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउने जनाएको हो।

केन्द्रले शिक्षक, विद्यार्थी र सरोकारवालाबाट लिइएको पृष्ठपोषण र अनलाइनबाट आएको पृष्ठपोषणलाई कार्यदलले छलफल गरेर प्रविष्ट गरेर नयाँ पाठ्यपुस्तक तयार गरेको जनाएको छ।

केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईका अनुसार कार्यदलले आएका सुझावलाई समेटेर पाठ्यक्रममा केही सुधार पनि गर्दै लगेको बताए। उनले छानबिन संग भने, ‘परीक्षणका लागि पठाइएका विद्यालयबाट आएको पृष्ठपोषण, सरोकारवालाको सुझाव र स्थलगत रुपमा लिइएको सुझावका आधारमा परिमार्जन गरी पाठ्यपुस्तकको अन्तिम रुप दिएका छौं। २०८० साल सम्ममा कक्षा ५ र १० मा पनि नयाँ पाठ्यक्रम लागु गरिसक्छौं।’

केन्द्रले २०८० को शैक्षिक सत्र सुरु हुने वेलासम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागु गर्ने गरी तयारी थालेको छ भने कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम परीक्षणका लागि देशै भरका विभिन्न २८ विद्यालयमा यस अघि नै पठाइसकेको छ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरुप २०८० सम्ममा सबै कक्षामा नयाँ पाठ्यक्रम लागु गर्ने उल्लेख छ। जसअनुसार १ ,६, ८ र ११ मा गत वर्ष देखि नै नयाँ पाठ्यक्रम लागु गर्न सुरु गरिसकेको छ।

यस्तै यस शैक्षिक सत्र देखि कक्षा २, ३, र १२ मा नयाँ पाठ्यक्रम लागु गरिएको छ । केन्द्रले २०७९ सालमा कक्षा ४, ७ र ९ मा लागु गर्ने र २०८० सम्ममा सबै कक्षामा नयाँ पाठ्यक्रम लागु गर्ने केन्द्रले जनाएको छ ।

आधारभूत तह कक्षा ४ को पाठ्यक्रम तथा पाठ्यपुस्तक परीक्षण प्रयोजनका लागि छनोट भएका प्रदेशगत जिल्ला र स्थानीय तह अन्तर्गत छानिएका विद्यालयहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।