कुमारी बैंकका सीईओले यसरी गरे करोडौ घोटाला, सेटिंगमा कसरी भएछ १९ करोडको चलखेल ?

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा प्रहरी अनुसन्धान कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनातिर सोझिएकाे छ ।

नक्कली लालपुर्जा बनाउन कुमारी बैंकका पर्सा शाखा हुँदै काठमाडौंको न्यूरोड शाखा र नक्सालमा रहेको केन्द्रीय कार्यालयका कर्मचारी सामेल भएकाे खुलेपछि अनुसन्धानमा सीईओ तिमिल्सिना समेत तानिएका हुन् ।

अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा अर्कैको नाममा रहेको नक्कली कागजात बनाएर काठमाडौंका कुसन प्रधान, एसके महर्जन, मुक्तिलाल गौतमले कुमारी बैंकमा राखेर १९ करोड रुपैयाँ ऋण लिएका थिए ।

अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट ऋण लिएको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई गरेपछि सुरुमा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।

उनीहरूबाहेक प्रहरीले पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसियालाई समेत पक्राउ गरेर अनुसन्धान थालेको छ । सीआईबी स्रोतका अनुसार पर्सा शाखाका एक कर्मचारी अझै फरार छन् । सीआईबीका एक प्रहरी अधिकारीका अनुसार एसके महर्जन समूहले राखेको जग्गाको लालपुर्जा नक्कली हो भन्ने खुलेपछि बैंकले गोप्य रूपमा एसके र मुक्तिलाललाई नयाँ धितो कायम गर्न लगाएर बैंकले अर्को चलाखी गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

उक्त कुरा बैंकले सम्बन्धित जग्गाधनी अथवा प्रहरी कसैलाई पनि जानकारी दिएको थिएन । सीआईबी स्रोतका अनुसार पक्राउ परेका एसके महर्जन र मुक्तिलाल गौतमले अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाउने कार्यबारे आफूहरूलाई केही थाहा नभएको र कुसन प्रधानले फसाएको प्रहरीसमक्ष बताएका छन् ।

सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जग्गाको नक्कली लालपुर्जा राखेर पर्सा हुँदै केन्द्रीय कार्यालसम्म पुग्दा पनि बैंकले ऋण दिनुले यसमा बैंकका उच्च अधिकारीकाे संलग्न रहेकाे संकेत गर्ने बताए । तर, यसबारे अझै अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने जिकिर गरे । उनका अनुसार एसके समूहले साउनमा बैंकबाट ऋण झिकेकाे कागजातबाट देखिन्छ ।

अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाउनेदेखि धितो राखेर १९ करोड रुपैयाँ निकाल्ने भूमिका पक्राउ गरेका कुसन प्रधानले खेलेको बैंकका एक कर्मचारीले जानकारी दिए ।

जुन कुरा प्रहरीसँग एसके मर्हजन र मुक्तिलाल गौतमलेसमेत बताएका छन् । कुमारी बैंकका ती कर्मचारीका अनुसार पक्राउ परेका प्रधान र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुुजमणि तिमिल्सिना साथी हुन् ।

यसअघि तिमिल्सिना सेन्चुरी बैंकको डेपुटी सीईओ हुँदा कुसन साेही बैंकका कार्यकारी निर्देशक थिए । साथै सीईओ तिमिल्सिना र कुसन फिलिपिन्समा एमबीए पढ्दाका ‘रुम मेट’ समेत हुन् ।

जसको फाइदा कुसनले उठाएको अनुमान ती कर्मचारीको छ । ठूलो कर्जा प्रवाह गर्दा सीईओको अनुमतिबिना शाखा कार्यालयहरूले आफैँले निर्णय गर्न सक्दैनन् । जसमा सीईओ तथा बैंक सञ्चालकहरूकाे अनुमति खाेजिन्छ । तिमल्सिना सेन्चुरी बैंकमा छँदा पनि डलर हिनामिनामा मुछिएका थिए । पछि बैंकले आन्तरिक रूपमा त्यो समस्या हल गरेको थियो