१२औँ राष्ट्रिय जनगणना आजदेखि सुरु,राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको सुरुवात

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

१२औँ राष्ट्रिय जनगणना आजदेखि सुरु गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको सुरुवात गरिने राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

राष्ट्रपति भण्डारीको विवरण संकलन गर्न गणकहरू बिहान साढे ९ बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा गणक खटिने छन् ।

गणकले हरेक घरमा पुगेर कुल ८० वटा प्रश्न सोध्नेछन् । एक परिवारको विवरण संकलन गर्न औसत २० मिनेट सयम लाग्ने अनुमान तथ्यांक विभागले गरेको छ ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ । तर, यो पटक कोरोनाका कारण ढिलोगरी जनगणना भइरहेको हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको पहिलो जनगणनाको मूल नारा– ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । मूल गणना ९ मंसिरमा सम्पन्न हुनेछ ।

०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जानकारी दिएको छ । देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदै छन् ।