उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने महाअनुष्ठानको पर्व छठ सकियो

  • प्रकाशित मिति : २०७८ कार्तिक २५, बिहीबार
  • chhanbin.com

उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ्य दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

दुलहीझैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।