२४ कम्पनीको आइपीओ आउने यसरी हुँदैछ तयारी, ६ लघुवित्त सहित हाइड्रोको आइपीओ पाइपलाईनमा
सेयर बजारमा पछिल्लो समय सर्वसाधरणको उच्च आकर्षण देखिएको छ । दिनप्रतिदिन नयाँ लगानीकर्ता थपिने क्रम तीव्र गतिमा बढेको छ। सीडीएसीका अनुसार हाल हिताग्राही खाता खोल्नेको संख्या ४५ लाखभन्दा बढी पुगिसकेका छन् । त्यस्तै दोस्रो बजारमा कारोबार गर्नेको संख्या करिब ८ लाख पुगिसकेका छन् ।
गत वर्ष आइपीओ जारी गरेका निफ्रा, नेपाल पुनर्बीमा, जीवन विकास, महिला लघुवित्त जस्ता कम्पनीको प्राथमिक साधरण सेयर (आइपीआ)ेले छोटो समयमै उच्च प्रतिफल दिएपछि सेयर बजारमा लगानीकर्ताको आकर्षण उच्च देखिएको हो । केही वर्ष अघिसम्म आइपीओ नै नबिक्ने अवस्था रहेकोमा हाल कुनै पनि कम्पनीले आइपीओ ल्याउँदा सयौं गुणा बढी आवेदन पर्ने गरेको छ ।
आइपीओ भर्नेको संख्या बढेसँगै पछिल्लो समय आइपीओ जारी गर्ने कम्पनीको संख्या पनि ह्वात्तै बढेका छन् । विशेषगरी कम्पनीहरुले थप पूँजी जुटाउन गर्न आइपीओ जारी गर्ने गर्छन् । चालू आर्थिक वर्षको ३ महिनामै आधा दर्जन बढी कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने दुई दर्जन कम्पनी आइपीओ जारी गर्ने प्रक्रियामा रहेका छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार हाल २४ वटा कम्पनीको ६ अर्ब ६० करोड ७६ लाख ४०० रुपैयाँ बराबरको आइपीओ पाइप लाइनमा रहेको छ । ती कम्पनीहरुले कुल ५ करोड ९३ लाख ६ हजार ४ कित्ता आइपीओ जारी गर्न लागेका हुन् । बोर्डका अनुसार आइपीओ जारी गर्ने पाइपलाइनमा रहेका २४ वटा कम्पनीमध्ये १४ वटा जलविद्युत कम्पनी, ६ वटा माइक्रोफाइनान्स, २ वटा बीमा कम्पनी र २ वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् ।
यी कम्पनीका प्राथमिक सेयर निष्कासन प्रक्रिया विभिन्न चरणमा छ। जसमा १० वटा कम्पनीको आइपीओ प्रारम्भिक अध्यननको चरणमा छन् भने ८ कम्पनीको आइपीओ बारे एकचरणको अध्ययन गरी थप कागजात माग गरिएको छ । त्यस्तै, ६ कम्प्नीको आइपीओ अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
कुन कम्पनीको कति कित्ता आउँदै ?
६ माइक्रोफाइनान्सको २९ लाख कित्ता
बोर्डका अनुसार ६ लघुवित्त कम्पनीहरुले कुल २९ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग गरेका छन् । आवेदन दिएका सबै लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै आइपीओ जारी गर्न लागेका हुन् । सीवाइसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ जारी गर्न आवदेन दिएको हो।
त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले ६०लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो । यी दुवैको आवेदनको बोर्डले प्रारम्भिक समीक्षा गरेको छ ।
त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ ल्याउने भएको हो । त्यस्तै उपकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराकरको २ लाख ६६ हजार २५० कित्ता र राष्ट्र उत्थान लघुवित्तले भने ८ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएका हुन् । यी तिनै लघुवित्तको आइपीओ प्रक्रिया बोर्डले सीमक्षा गरी टिप्पणी पठाइएको सूचीमा राखेको छ।
यस्तै, नेस्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको छ । यसको आइपीओ प्रक्रिया अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
हाइड्रोपावरको आइपीओको बाढी लाग्दै
आइपीओ जारी गर्ने पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा धेरै हाइड्रोपावर रहेका छन् । हाल बोर्डमा १४ हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न अनुमति मागद्यै आवेलन दिएका छन् ।
जसमा सयपत्री हाइड्रोपावरले ९ करोड रूपैयाँको ९ लाख कित्ता, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रूपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता, थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २५० कित्ता आइपिओ जारी गर्न अनुमति मागेका छन् ।
त्यसैगरी, राप्ती हाइड्रोपावर कम्पनीको २९ करोड ४१ लाख ४१ हजार रूपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता, त्यस्तै श्वेतगंगा हाइड्रोपावरको ४७ लाख ७९ हजार कित्ता, मन्दाकिनी हहाइड्रोपावरको १७ लाख ६४ हजार ११० कित्ता आइपीओ पाइप लाइनमा छ । यी सबै कम्पनीको आइपीओलाई बोर्डले बोर्डले प्रारम्भिक समीक्षा अन्तर्गतको सूचीमा राखेको छ।
त्यस्तै, अपर सोलु हाइड्रोपावरले ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५०० कित्ता, अपर हेवाखोलाले २० करोड बराबरको २० लाख कित्ता, रिभर फल्स पावरले ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता आइपी जारी गर्न अनुमति मागेका छन् । यी कम्पनीको आइपीओ प्रक्रिया एकचरणको अध्ययन गरी टिप्पणी पठाइएको सूचीमा राखेको छ।
त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको २५ करोड २५ लाख कित्ता, हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावरले ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भेन्चरले ६२ लाख ५० हजार कित्ता, दोर्दी खोला जलविद्युतले २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
२ बीमा कम्पनीको १ करोड २० लाख कित्ता
हाल दुई जीवन बीमा कम्पनी आइपीओ जारी गर्ने पाइपलाइन्मा रहेका छन् । ३ वर्ष अघिदेखि संचालनमा आएका आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्स आइपीओ जारी गर्न लागेका हुन् ।
यी दुई कम्पनीले कुल १ करोड २० लाख कित्ता आइपीओ जारी गर्न लागेका हुन् । दुवै कम्पनीले ६०–६० लाख कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।
आइएमईले अंकित मूल्यमै आइपीओ जारी गर्नेछ भने रिलायबलले अकिंत मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडी प्रतिकित्ता २१२ रुपैयाँ आइपीओ जारी गर्न अनुमति मागेको छ ।
रियालबलले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको छ। यस्तै, आइएमई लाइफले अंकित मूल्य १०० का दरले ६० करोड बराबरको ६० लाख कित्ता सेयर जारी गर्ने भएको हो।
दुई कम्पनीको २९ करोडको आउँदै
यस्तै, अन्य क्षेत्रका दुई कम्पनीले पनि २९ करोड रुपैयाँ बढीको आइपीओ ल्याउन आवेदन दिएका छन् । इमर्जिङ नेपालले प्रतिकित्ता ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपी जारी गर्ने भएको हो ।
त्यस्तै, डिश मिडिया नेटवर्कले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ जारी गर्ने भएको छ ।