तात्यो समाजवादी कांग्रेस, अहिले सम्म कुनै पार्टीले गर्न नसकेको आन्दोलन गरेर यसरी देखाउँदैछ तागत

  • प्रकाशित मिति : २०७८ कार्तिक २४, बुधबार
  • chhanbin.com

हिन्दु राज्य स्थापना, संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको नेपाल समाजवादी कांग्रेसले काठमाडौंमा फरक प्रकारले आन्दोलन गर्दै राजनीतिक उभार ल्याउने संकेत दिएको छ।

देशमा संघीयताको खारेजी, धर्म निरपेक्षताको खारेजी र राजासहितको प्रजातन्त्र लगायतका मुद्दा उठाउँदै किस्ता-किस्तामा आन्दोलन गर्दै आएको कांग्रेसले आफ्नो माग पूरा गराउन काठमाडौंमा नितान्त फरक शैलीले आन्दोलन चर्काउन अनेक जुक्ति लगाउने भएको हो।

समाजवादी कंग्रेसले कात्तिक २९ गते काठमाडौंमा पञ्चकन्यासहित, स्वस्ति बाचन, विभिन्न धार्मिक आस्थाका गुरु, सहभागी गराएर प्रदर्शन गर्दैछ । अहिलेसम्म विभिन्न राजनीतिक पार्टीले सडकमा हजारौ कार्यकर्ता उतारेर संघर्ष गर्ने गरेका भए पनि यसरी सबै प्रकारका व्यक्तिहरु सहभागी गराएर आन्दोलन गरेको भने पाइएको छैन ।

उक्त पार्टीले पहिलो पंक्तिमा पञ्चकन्या, दोस्रो पंक्तिमा पञ्चे बाजा, तेस्रो स्वस्ती बाचक, चौथो पंक्तिमा मुस्लिम समुदाय, पाँचौमा बुद्द धर्म गुरुहरु सहभागी गराउनेछ भने त्यसपछि मात्रै सो पार्टीका कार्यकर्ता सहभागी बन्ने छन् । सो कार्यक्रममा क्रिष्चयन धर्मलम्बीहरुलाई भने नबोलाइने नेपाल समाजवादी कांग्रेसका सचिव मानबहादुर गुरुङले बताए ।

पार्टीले यसअघि पनि काठमाडौंमा पटकपटक सडक आन्दोलन गर्दै आएको छ । असार १५ मा विभिन्न चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । यसले माइतीघरमा दिप प्रज्वलन गरेको थियो । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले देशमा राजनीतिक परिवर्तनका लागि सबै शक्ति एक हुनुपर्ने आवश्यकता रहेकाले त्यसको प्रतिकात्मकरुपमा सांस्कृतिक र्यालीको आयोजना गरिएको बताए ।