लोकसेवा तयारी गर्दै हुनुहुन्छ भने यी ​विषयगत प्रश्नोत्तर नजानी नाम निकाल्नै मुस्किल पर्छ

  • प्रकाशित मिति : २०७८ कार्तिक २३, मंगलवार
  • chhanbin.com

निजामती सेवामा पदपूर्ति प्रक्रिया

१. मूल्य अभिवृद्धि करको छोटो परिचय दिनुहोस् ।
 वस्तु तथा सेवाको खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तरमा लाग्ने कर मूल्य अभिवृद्धि कर हो । यो वस्तु तथा सेवाको मूल्यमा वृद्धि हँुदा बढेको मूल्यमा लाग्ने कर हो । यो बिक्री करको सुधारिएको रूप हो । नेपालमा यस करलाई राजस्वको प्रमुख आधारका रूपमा लिइएको छ । नेपालमा यो कर वि.सं. २०५४ मङ्सिर १ गतेदेखि लागू भएको हो । मूल्य अभिवृद्धि कर लागू भएको दिन मङ्सिर १ लाई वि.सं. २०६९ सालदेखि ‘राष्ट्रिय कर दिवस’का रूपमा मनाउँदै आइएको छ । हाल मूल्य अभिवृद्धि करको दर १३ प्रतिशत छ । नेपालमा यस करलाई व्यवस्थित गर्न मूल्य अभिवृद्धि कर ऐन, २०५२ र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ लागू गरिएको छ । मूल्य अभिवृद्धि कर स्वयं कर निर्धारण प्रणालीमा आधारित छ । जसअनुसार करदाताले आफ्नो कारोबारको आफँै अभिलेख राख्ने, आफँै कर निर्धारण गर्नेे, आफँै कर जम्मा गर्ने, कर विवरण कर कार्यालयमा आफँै दाखिला गर्नेजस्ता कार्य गर्दछन् । यसले करदातालाई आर्थिक प्रजातन्त्रको प्रत्याभूति दिएको छ । यो यसको प्रमुख विशेषता हो । यो लेखामा आधारित आधुनिक कर हो ।

२. लागूपदार्थको कुलतमा लाग्नुका कारणहरू के के हुन् ? लेख्नुहोस् ।
 मानिसको स्नायु र मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पारी शरीरका अङ्गहरूलाई शिथिल एवं उत्तेजित बनाउने वस्तु लागूपदार्थ हुन् । गाँजा, भाङ, चरेस, हिरोइन, कोकिन, स्म्याक आदि लागूपदार्थ हुन् । लागूपदार्थको कुलतमा लाग्नुका मुख्य कारण मूलतः व्यक्तिको स्वभाव, सङ्गत, पारिवारिक अवस्था, आर्थिक स्वतन्त्रता, सामाजिक अवस्था, शिक्षा, चेतना आदि हुन् । समग्रमा कुनै पनि व्यक्ति लागूपदार्थको कुलतमा निम्न कारणले लाग्ने
गरेको पाइन्छ:
– अनावश्यक चिन्ताबाट मुक्ति पाउन,
– दुव्र्यसनी साथीको सङ्गत,
– कार्यमा असफलता, घरबाट हेला, निराश,
– बेरोजगारी,
– पश्चिमी शैलीको नक्कल,
– लागूपदार्थ तस्करको प्रलोभन ।

३. सामाजिक न्यायको अवधारणा स्पष्ट गर्नुहोस् ।
 देशका सबै नागरिक सम्पन्न हुँदैनन् । सबै नागरिकको एउटै हैसियत र अवस्था पनि हुँदैन । मुलुकका सबै नागरिकको संरक्षक राज्य भएकाले राज्यले विपन्न वर्ग एवं समुदायलाई सेवासुविधा तथा स्रोत–साधनको न्यायोचित वितरण गर्नुपर्दछ, यो नै सामाजिक न्याय हो । यो सबै प्रकारका विभेदको अन्त्य हो । यो आर्थिक एवं सामाजिक असमानता हटाउने, राज्य प्रणालीमा सबै नागरिकको समान सहभागिता एवं पहँुच बढाउने कार्य हो । यसमा अवसर र लाभको समान वितरण हुन्छ । यो समानताको सिद्धान्तमा आधारित अवधारणा हो । यो लोककल्याणकारी राज्यको अवधारणासँगै विकसित अवधारणा हो । यो मानव अधिकारको विश्वव्यापी घोषणा, सन् १९४८ सँग सम्बन्धित विषय पनि हो ।

४. विवेकपूर्ण निर्णय गर्दा ध्यान पु-याउनुपर्ने विषयहरू उल्लेख गर्नुहोस् ।
 विवेकपूर्ण निर्णयले पर्याप्त सूचनाको सङ्कलन र विश्लेषण, विकल्पहरूको विकास, विकल्पहरूले पार्ने प्रभाव एवं परिणाम, निर्णय कार्यान्वयन गर्ने संयन्त्रलगायतका पक्षहरूको व्यापक अध्ययन विश्लेषणको वकालत गर्दछ । त्यसकारण विवेकपूर्ण निर्णय गर्दा यी र यस्तै विषयमा ध्यान दिनुपर्दछ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– ऐन, नियम, कानुनको पूर्ण पालना,
– पारदर्शी निर्णय प्रक्रियाको अवलम्बन,
– व्यवस्थापन सूचना प्रणालीको पूर्ण प्रयोग,
– समयमै निर्णय,
– जोखिम नलिने प्रवृत्तिमा व्यापक सुधार,
– सूचनामा आधारित निर्णय प्रक्रियाको अवलम्बन,
– आधुनिक सूचना प्रविधिको पूर्ण प्रयोग,
– वस्तुस्थितिको यथार्थ विश्लेषण,
– आग्रह पूर्वाग्रहबाट मुक्त,
– परिणाम र प्रभावको आकलन,
– समस्या एवं चुनौतीको सम्बोधन ।

५. नेपालको संविधानमा स्वतन्त्रताको हकअन्तर्गत रहेका हकहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।
 नेपालको संविधानको धारा १७ मा स्वतन्त्रताको हकअन्तर्गत रहेका हकहरू निम्न छन् ः
– विचार र अभिव्यक्तिको स्वतन्त्रता,
– बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
– राजनीतिक दल खोल्ने स्वतन्त्रता,
– सङ्घसंस्था खोल्ने स्वतन्त्रता,
– नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,
– नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।

६. नेपाली सेनासँग सम्बन्धित आर्टिलरी फौज, एयर डिफेन्स आर्टिलरी फौज, सिग्नल फौज, सपोर्टिङ फौज र कम्ब्याट आम्र्स फौजको अर्थ खुलाउनुहोस् ।
 क. आर्टिलरी फौज
– युद्धको समयमा आधारभूत लडाकु फौजलाई फायर सपोर्ट दिएर सहयोग पु¥याउने विभिन्न ठूला हातहतियार तथा तोपहरूबाट सुसज्जित फौज,
ख. एयर डिफेन्स आर्टिलरी फौज
– युद्धको समयमा आधारभूत लडाकु फौजलाई शत्रु वा विपक्षीको विविध हतियार तथा साधनहरूको प्रयोगबाट हुने हवाई हमलालाई निष्क्रिय वा न्यून पार्न प्रत्यक्ष प्रतिरक्षात्मक कारबाही गर्ने फौज,
ग. सिग्नल फौज
– युद्धको समयमा आधारभूत लडाकु फौजलाई आवश्यकताअनुसार सञ्चार सुविधा उपलब्ध गराएर सहयोग पु¥याउने स्रोतसाधनयुक्त फौज,
घ. सपोर्टिङ फौज
– आधारभूत लडाकु फौजलाई युद्धमा सहयोग पु¥याउने फौज, यसमा आर्टिलरी, एयर डिफेन्स आर्टिलरी, आर्मी एभिएसन, इन्जिनियर्स तथा सिग्नल फौज
पनि पर्दछन् ।
ङ. कम्ब्याट आम्र्स फौज
– युद्धमा प्रत्यक्ष संलग्न हुने गुत्थम्गुत्थाको लडाइँमा सहभागी हुने आधारभूत लडाकु फौज, यसमा इन्फ्यान्ट्री, मेकनाइज्ड इन्फ्यान्ट्री तथा स्पेसल फोर्स पनि पर्दछन् ।

७. विद्यालय व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका केके हुने गर्दछ ? चर्चा गर्नुहोस् ।
 विद्यालयमा प्रधानाध्यापक प्राज्ञिक तथा प्रशासकीय प्रमुख हो । विद्यालयमा विद्यार्थी भर्नादेखि शैक्षिक वातावरण, गुणस्तर, अनुशासन, समन्वय, अभिलेखलगायत विद्यालयको समग्र व्यवस्थापन गर्ने कार्य प्रधानाध्यापकको हो । विद्यालयमा प्रधानाध्यापक विद्यार्थीका अभिभावकको पनि अभिभावक हो । त्यसैले विद्यालय व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका बहुआयामिक हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ:
– विद्यालयमा शैक्षिक वातावरण, गुणस्तर, अनुशासन कायम राख्ने,
– विद्यालयका शिक्षक तथा कर्मचारीसँग समन्वय गरी शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकबीच पारस्परिक सहयोगको वातावरण सिर्जना गर्ने,
– विद्यालयमा अनुशासन, सच्चरित्रता, शिष्टता कायम गर्ने,
– शिक्षकसँग परामर्श गरी विद्यालयमा कक्षा सञ्चालनसम्बन्धी कार्यक्रम तयार गर्ने र त्यस्तो कार्यक्रमबमोजिम कक्षा सञ्चालन भए, नभएको निरीक्षण गर्ने,
– विद्यालयमा सरसफाइ, अतिरिक्त क्रियाकलाप आदिको प्रबन्ध गर्ने गराउने,
– विद्यालयको प्रशासनिक कार्यको सञ्चालन तथा नियन्त्रण गर्ने,
– विद्यालयमा विद्यार्थी भर्ना गर्ने तथा परीक्षा सञ्चालन गराउने,
– विद्यार्थीलाई स्थानान्तरण तथा अन्य प्रमाणपत्र दिने,
– विद्यालयमा भए गरेका महìवपूर्ण कामकारबाहीको अभिलेख राख्ने,
– शिक्षकलाई पुरस्कार र सजाय दिने सम्बन्धमा सिफारिस गर्ने,
– महिनामा कम्तीमा एक पटक शिक्षकको बैठक बोलाई विद्यालयसम्बन्धी विषयमा छलफल गरी त्यसको अभिलेख राख्ने,
– विद्यालय भवन तथा छात्रावासको हाताभित्र कुनै किसिमको अभद्र व्यवहार हुन नदिने,
– विद्यालयको वार्षिक योजना बनाई व्यवस्थापन समितिबाट पारित गरी कार्यान्वयन गर्ने गराउने,
– विद्यालयमा अध्ययन, अध्यापनसम्बन्धी मासिक, अर्धवार्षिक तथा वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गर्ने गराउने,
– कुनै विद्यार्थीले विद्यालयभित्र अनुशासन भङ्ग गरेमा निजलाई निष्कासन गर्ने,
– विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक
लागू गर्ने,
– विद्यालयमा सञ्चालन हुने आवधिक परीक्षा नियमित तथा मर्यादित ढङ्गबाट सञ्चालन गर्ने गराउने,
– कुनै शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी असफल भएमा तथा कुनै शिक्षकले लापरबाही र अनुशासनहीन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्म तलब वृद्धि
रोक्का गर्ने ।

८. सरकारी पत्रका महìवपूर्ण पक्षहरू उल्लेख गर्नुहोस् ।
 क. सार्वजनिक सूचना
– सरकारी पत्रमा सार्वजनिक सूचना आदान प्रदान हुन्छन् ।
ख. कार्यालयको नाम, ठेगाना:
– यो पत्र सरकारी निकायबाट लेखिएकाले यसमा सम्बन्धित कार्यालयको नाम, ठेगाना, सम्पर्क नम्बर उल्लेख हुन्छ ।
ग. औपचारिकता
– सरकारी पत्रमा औपचारिक मर्यादाको सम्बन्ध हुन्छ र पत्रमा पनि त्यही अनुसारको मर्यादा प्रस्तुत हुन्छ । यसमा विनम्रता वा आदेश, पदीय मर्यादा आवश्यक पर्दछ । यो पत्रमा औपचारिकता बढी हुन्छ ।
घ. चलानी नम्बर
– सरकारी पत्रमा चलानी नम्बर, पत्र सङ्ख्या, बोधार्थ, कार्यार्थजस्ता पक्ष अनिवार्य हुन्छन् ।
ङ. सरल र स्पष्ट भाषा
– सरकारी पत्रमा भाषागत शुद्धता, सरलता, एकरूपता हुनुपर्छ ।
च. कार्यालयको लेटरप्याड, छाप र प्रमुखको हस्ताक्षर
– सरकारी पत्र जुनसुकै प्रकारको कागजमा लेख्न सकिँदैन । यो कार्यालयको तोकिएको लेटरप्याडमा लेखिन्छ । यस्तो पत्रमा कार्यालय प्रमुखको हस्ताक्षर र कार्यालयको छाप अनिवार्य हुन्छ ।

९. नेपाल प्रहरीको राजपत्राङ्कित श्रेणीमा रहने पदहरू के के हुन् ? लेख्नुहोस् ।
 नेपाल प्रहरीको राजपत्राङ्कित श्रेणीमा रहने पद निम्न छन्:
(क) विशिष्ट श्रेणी
– प्रहरी महानिरीक्षक
– प्रहरी अतिरिक्त महानिरीक्षक
(ख) प्रथम श्रेणी
– प्रहरी नायब महानिरीक्षक
– प्रहरी वरिष्ठ उपरीक्षक
(ग) द्वितीय श्रेणी
– प्रहरी उपरीक्षक
– प्रहरी नायब उपरीक्षक
(घ) तृतीय श्रेणी
– प्रहरी निरीक्षक

१०. नेपालको निजामती सेवामा पदपूर्ति प्रक्रियाका चरणहरू उल्लेख गर्नुहोस् ।
 निजामती सेवामा रिक्त पदमा नयाँ कर्मचारी भर्ना गरेर कर्मचारी आपूर्ति गर्ने कार्य पदपूर्ति हो । पदपूर्ति निरन्तर चल्ने प्रक्रिया हो । नेपालको निजामती सेवामा पदपूर्ति प्रक्रियामा विभिन्न चरण प्रचलित छन, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– वार्षिक कार्यतालिका प्रकाशन,
– माग सङ्कलन र प्रतिशत निर्धारण,
– विज्ञापन प्रकाशन,
– दरखास्त सङ्कलन, दरखास्त रुजु र स्वीकृति,
– शैक्षिक योग्यता एवं पाठ्यक्रम निर्माण, परिमार्जन तथा संशोधन,
– प्रश्नपत्र निर्माण एवं परिमार्जन, प्रश्नपत्र छनोट,
– लिखित परीक्षा सञ्चालन,
– उत्तरपुस्तिकामा दोहोरो कोडिङ,
– उत्तरपुस्तिका परीक्षण,
– लिखित परीक्षा नतिजा,
– तोकिएको पदमा प्रयोगात्मक परीक्षा, सीप परीक्षण, सामूहिक छलफल,
– अन्तर्वार्ता,
– अन्तिम योग्यताक्रमको नतिजा प्रकाशन,
– नियुक्तिका लागि सिफारिस ।

११. नेतृत्वले गर्ने कार्यहरू के के हुन् ? लेख्नुहोस् ।
 जुनसुकै परिस्थितिमा पनि अनुयायी तथा सरोकारवालाहरूको प्रवृत्ति र बानीव्यहोरालाई एउटा आकारमा ल्याई सामूहिक लक्ष्य प्राप्तिमा क्रियाशील गराउने क्षमता नेतृत्व हो । नेतृत्वले अरूलाई प्रभाव पार्ने, काम गराउने तथा आफैँले पनि काम गर्नुपर्ने भएकाले नेतृत्व परिश्रमी, प्रशिक्षित, प्रजातान्त्रिक, उत्प्रेरित एवं वस्तुवादी हुनुपर्दछ । नेतृत्वले धेरै कार्य गर्नुपर्दछ, जुन
निम्न छन्:
– सङ्गठनको उद्देश्य एवं लक्ष्य निर्धारण गर्ने,
– नीति निर्माण गर्ने,
– निर्णय गर्ने,
– व्यवस्थापकीय कार्यहरू गर्ने,
– समय व्यवस्थापनको कार्य गर्ने,
– निर्देशन दिने,
– समन्वय गर्ने, सञ्चार गर्ने,
– उत्प्रेरणा जगाउने कार्य गर्ने,
– स्रोतको पहिचान तथा परिचालनको कार्य गर्ने,
– शक्ति एवं अधिकारको प्रयोग गर्ने,
– जिम्मेवारी पूरा गर्ने, कर्तव्य पालना गर्ने,
– अनुयायी तथा संस्थाको प्रतिनिधित्व गर्ने,
– अनुगमन गर्ने, मूल्याङ्कन गर्ने,
– पृष्ठपोषण लिने दिने ।