सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि यी ५ कम्पनीको मूल्यमा लाग्यो पोजेटिभ सर्किट

  • प्रकाशित मिति : २०७८ कार्तिक २२, सोमबार
  • chhanbin.com

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ४ दिनपछि खुलेको बजार १९ अंकले घटेर बन्द भएको हो । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । तिहार अघि दैनिक औसतमा ६ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

सेयर बजार मापक सूचक नेप्से १९.२० अंकले घटेरर २८२९.६५ विन्दुमा आइपुगेको छ । यसदिन २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बढीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा राताम्मे भएको छ भने ३ समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले घटेको छ भने फाइनानस समूह ०.७८ प्रतिशतले बढेको छ । कारोबारमा आएका २३० कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नबिल बैंकको २२ करोड र आइसीएफसी फाइनान्स २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साहस ऊर्जा र आइसीएफी फाइनान्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

यसैगरी, महालक्ष्मी विकास बैंक, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.९६ प्रतिशत गुमाएका छन् ।