के तपाई बैंकबाट ऋण लिंदै हुनुहुन्छ ? यदि हो भने जान्नुहोस् कुन बैंकको ब्याजदर सस्तो ? (सुची सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक २१, आईतवार
  • chhanbin.com

तपाईं कुनै व्यावसायिक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा पाउनु भएको छैन ? तपाईंहरूको जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २७ वटा वाणिज्य बैंकको आधारदर (बेसरेट)को बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा ऋण पाइन्छ त ? यसको लागि बैंकहरूको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ । आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिँदा सस्तो वा महँगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ । पछिल्लो ३ महिनामा बैंकको आधारदर औसतमा ०.६३ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तसम्म ६.८९ प्रतिशत रहेको बैंकको औसत बेसरेट असोज मसान्तसम्म आइपुग्दा ७.५२ प्रतिशत पुगेको छ ।

बैंकहरूले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महँगो ब्याज लिन्छन् । यसमा उनीहरूले केही प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन ।

बैंकहरूले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरूले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।

विगतका वर्षहरूमा बैंकको आधारदर नै १२ प्रतिशतसम्म हुँदा त्यसमा प्रिमियम थप गरी कर्जा लगानीगर्दा बैंकहरूको ब्याजदर १७र१८ सम्म थियो । पछिल्लो १ वर्ष समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा अधिकांश बैंकको ब्याज एकल अंकमा झरेको थियो । तर, चालू आर्थिक वर्ष सुरु भए यता तरलता अभावका कारण बैंकको ब्याज पुनः १४/१५ प्रतिशतसम्म पुगेको छ ।

पछिल्लो ३ महिनामा बैंकको आधारदर औसतमा ०.६३ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तसम्म ६.८९ प्रतिशत रहेको बैंकको औसत बेसरेट असोज मसान्तसम्म आइपुग्दा ७.५२ प्रतिशत पुगेको छ । असार मसान्तसम्म अधिकांश बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम रहेकोमा असोजमा केही बैंकको झन्डै १० प्रतिशत पुगेको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा चरम तरलता अभाव हुँदा त्यसको प्रत्यक्ष असर ब्याजदरमा परेको हो । तरलता अभाव भएपछि बैंकहरुले पैसा तान्न निक्षेपमै साढे १० प्रतिशतसम्म ब्याज दिएका छन् । जसले आधारदर समेत बढाएको छ ।

कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो ?

वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको चौथोे त्रैमासको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको बेसरेट न्यूनतम ५.१८ प्रतिशतदेखि अधिकतम ९.८१ प्रतिशतसम्म रहेको छ ।

समीक्षा अवधिमा बैंकहरुको औसत बेसरेट ७.५२ प्रतिशत रहेको छ । जसमा १५ बैंकको बेसरेट औसतभन्दा बढी रहेको छ भने १२ वटाको औसतभन्दा कम अर्थात् साढे ७ प्रतिशतभन्दा कम छ । ती मध्ये जसमा ३ वटा वाणिज्य बैंकहरुको बेसरेट ६ प्रतिशतभन्दा कम छ ।

सबैभन्दा कम आधारदर विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको आधारदर जम्मा ५.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा अधिकांश बैंकको बेसरेट बढे पनि चार्टर्डको भने असारकोभन्दा पनि घटेको छ । चार्टडले कर्जाको प्रकृति अनुसार १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएको छ ।

यस्तै चार्टर्डपछि कम बेसरेट हुनेमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । वाणिज्यको बेसरेट ५.६३ प्रतिशत रहेको छ । यसैगरी नेपाल बंगलादेश बैंकको ५.९३ प्रतिशत, नबिल ६.११ र नेपाल इन्भेष्टमेन्ट बैंकको ६.७७ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्म १२ बैंकको आधारदर ७ देखि ८ प्रतिशततको बीचमा रहेको छ । एभरेष्ट, हिमालयन, कृषि विकास, ग्लोबल आइएमई, सानिमा, एनआइसी एशिया, एनसीसी, सिद्धार्थ, माछापुच्छ्रे, प्रभु, कुमारी र एनएमबीको बेसरेट ८ प्रतिशतभन्दा कम छ । यी बैंकहरू पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरूको सूचीमा पर्दछन् ।

यस्तै, १० बैंकको बेसरेट ८ देखि १० प्रतिशतको बीचमा रहेको छ । जसमा सबैभन्दा धेरै मेगाको ८.९१ प्रतिशत रहेको छ । बैंकहरूको आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार प्रिमियम जोडर कर्जा लगानी गर्छन् । बैंकिङ प्रणालीमा हुने तरलताको अवस्था अनुसार ब्याजदरमा परिवर्तन गर्ने गर्दछन् । गतवर्षदेखि राष्ट्र बैंकको निर्देशन अनुसार घर, गाडी लगायत कर्जामा बैंकहरूले स्थिर (परिवर्तन नहुने) ब्याजदर पनि लागू गरेका छन् ।