नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।
यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत २५ वटा माइक्रोफाइनान्स कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स कम्पनीहरूले औसतमा २३.७५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये महिला लघुवित्तले सबैभन्दा धेरै ५० प्रतिशत लाभांश घोषणा गरेको छ भने एनआइसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत घोषणा गरेको छ ।
हालसम्म लाभांश घोषणा गरेका २५ लघुवित्तहरूमध्ये १२ वटाले २५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने १० वटाले औसतभन्दा कम अर्थात् २३.७५ प्रतिशतभन्दा कम घोषणा गरेका छन् ।
गत वर्षको नाफाबाट २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्नेहरूमा महिला, स्वाभिमान, सबैको, उन्नति सहकार्य, सपोर्ट, ग्लोबल आइएमई, लक्ष्मी, साधना, आशा, स्वरोजगार, महुली र समता घरेलु लघुवित्त रहेका छन् ।
यीमध्ये सबैभन्दा धेरै महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेप्सेमा सूचीकृत माइक्रोफाइनान्समध्ये सबैभन्दा महँगो सेयर मूल्य रहेको महिलाले गत आवको नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।
हालसम्म लाभांश गरेका लघुवित्तमध्येमा दोस्रो धेरै स्वाभिमान लघुवित्तले ३४ प्रतिशत घोषणा गरेको छ । स्वाभिमानले सेयरधनीलाई ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
लघुवित्तहरूले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । लाभांश घोषणा गर्नेमध्ये डिप्रोक्स, साधना, आशा, स्वरोजगार लघुवित्तले साधरण सभा डाकी बुकक्लोज समेत गरिसकेका छन् ।