पटका पड्काउँदा पोल्यो, अथवा सेल पकाउँदा पोल्यो ? प्राथमिक उपचार यसरी गर्नुहोस्

  • प्रकाशित मिति : २०७८ कार्तिक १९, शुक्रबार
  • chhanbin.com

डा प्रज्वल पुडासैनी

तिहार परापूर्वकाल देखिनै चल्दै आएको नेपालीहरुको महान चाड हो। तिहारलाई सम्झिँदा हामी फूल, दियो, देउसीभैलो, झिलिमिली र सेल रोटी सम्झिन्छौं।

तिहारमा आगो, पटका, झिलिमिली र सेल रोटी बनाउने क्रममा आगोले/तेलले पोलेर धेरै दुर्घटनाहरु समेत हुने गरेका छन्। तसर्थ यी सांस्कृतिक महत्व भएका चाडपर्ब मनाउँदा निकै सजक हुनु आवश्यक छ। तिहारमा धेरैजसो सेल रोटी पकाउँदा र पटका खेल्दा धेरै आगो/तेलले पोलेर अस्पताल आउने गरेको पाइएको छ।

आगो/तेलले पोलेमा के गर्ने?
सबै प्रकारको पोलाईमा यसो गरौं
१. आगो निभाउने र तातो तेल/आगोबाट मानिसको छालासंगको सम्पर्क हटाइहाल्ने।
२. आगो लागेमा ‘स्टप, ड्रोप र रोल’ अर्थात् रोकिने, भुइँमा ढल्ने र लडीबडी गर्ने।
३. तातो/ जलेको लुगा छालाको सम्पर्कबाट हटाउने र यदी हटाउन गाह्रो भएमा कपडालाई छेउबाट काटी दिने।
४. कस्सिने खालका लुगा, पेटी, औंठी, सिक्रीहरु तुरुन्तै हटाउने। जलेका घाउहरु छिट्टै सुन्निने हुन्छन्। त्यसैले शरीरमा कस्सिएर रहेका यस्ता लुगा/गहनाले रगत संचालनमा बाधा पुर्याेइ घाउहरु थप जटिल बनाउन सक्छन्।

छालाको माथिल्लो भाग मात्र जलेमा अर्थात् (फर्स्ट डिग्री बर्न- यसमा छाला रातो, सुक्खा र दुख्ने हुन्छ र फोका हुदैनन्) मा यसो गर्ने :
१. पोलेको ठाउँमा चिसो धाराको पानीले पखाल्ने अथवा चिसो पानीमा जलेको शरीरको अंग डुबाउने
२. पोलेको छालालाई बचाउने : सफा कपडा अथवा नटाँसिने खालको ब्याण्डएज लगाउने
३. भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चेरआइजेर २ देखि ३ पटक सम्म लगाईराख्ने। यस्ता तेल भएका मोइस्चेरआइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ।
४. दुखाई कम गर्ने औषधि खाने : पारासिटामोल, इबूप्रोफेन जस्ता सजिलै पाइने औषधिको सेवन गरी दुखाई काम गर्ने।

छालाको माथिल्लो २ भाग जलेमा अर्थात् (सेकेन्ड डिग्री बर्न- यसमा छाला दुख्ने, सुन्निने, रातो हुने र पानी फोका आउने हुन्छ) मा यसो गर्ने:
१. चिसो पानीमा १० देखि १५ मिनेट जलेको अंग डुबाउने। आइस नलगाउने, आइसले शरीरको तापक्रम झन् घटाई दुखाई र क्षति बढी गर्छ।

२. जलेर बनेका फोकाहरु नफुटाउने/घिउ, घिउकुमारी जस्ता तत्वहरु पोलेका घाउमा लगाउँदा छालामा संक्रमण फैलिन सक्छ त्यसैले यस्ता बस्तुहरु पोलेको ठाउँमा नलगाउने

३. पोलेको छालालाई बचाउने : सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने

४. जलेका बिरामीलाई सक अर्थात् (पोलेर रगत कम भई शरीरका अंगहरुमा अक्सिजनको मात्रा कम हुने अवस्था) बाट बचाउनु पर्छ।
त्यसका लागि निम्न उपायहरु अपनाउनु पर्ने हुन्छ :
-जलेका मानिसलाई भुइँमा हात खुट्टा फिँजाएर समतल रुपमा सुत्न लगाउने
– खुट्टा शरीरबाट १२ इन्च (३० सेन्टीमिटर) जति माथि उठाउने
– जलेको भागलाई लुगा अथवा ब्ल्यांकेटले छोप्ने

छालाको पुरै भाग जलेमा अर्थात् (थर्ड डिग्री बर्न- यसमा छाला पुरैकालो अथवा डढेको जस्तो हुन्छ) मा यसो गर्ने:
१. अरु कसैसंग सहयोग माग्ने
२. जलेको भागलाई बचाउने : सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने
३. जलेका औंलाहरुलाई सफा कपडाले छुट्टाउने र टाँसिन नदिने
४. यस्ता गहिरो खालका पोलेका घाउ पानीमा नडुबाउने
५. जलेका बिरामीलाई सक बाट बचाउने
६. तुरुन्त अस्पताल लैजाने।

(डा पुडासैनी निजामति कर्मचारी अस्पतालमा छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञका रुपमा कार्यरत छन्।)