कुन कम्युनिष्ट नेताले तिहारमा के-के गर्दैछन् ? क-कसले लगाउँदैछन् भाईटिका ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १९, शुक्रबार
  • chhanbin.com

तिहारलाई हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाडको रूपमा लिइन्छ । तथापि यसमा केही मतहरू छन् । यो चाड हिन्दुको मात्रै नभएर सबै नेपालीको हो भन्ने मत छँदैछ । अर्कातिर लामो समय ‘हिन्दु अधिराज्य’का रूपमा सोहीअनुरूप संस्कृति लादिएको कारण फरक संस्कृतिका समुदायले पनि हिन्दु संस्कृति नै मान्न बाध्य हुनुपरेको हो भन्ने मत पनि जबर्जस्त छ ।

यस्तो मतलाई विशेषतः कम्युनिष्ट पार्टीहरूले आफ्नो राजनीतिक आन्दोलनका क्रममा सांस्कृतिक अश्त्रको रूपमा प्रयोग गरेको देखिन्छ । सांस्कृतिक अन्तर्घुलनका कारण होस् या प्रभुत्व स्वीकार्दै जाँदा होस्, यस्ता चाडपर्वमा अधिकांश नेपाली सामेल देखिन्छन् ।

अधिकांश कम्युनिष्ट नेता–कार्यकर्ता पनि आन्दोलनबाट सत्ता अभ्यासमा पुगेपछि यस्ता सांस्कृतिक चाडपर्वलाई सनातन स्वरूपमै मनाइरहेका छन् । केही कम्युनिष्ट नेता भने यस्ता चाडमा धार्मिक क्रियाकलापलाई अस्वीकार गरेर सांस्कृतिक क्रियाकलापमा सहभागी हुँदै आएका छन् । विभिन्न पद–प्रतिष्ठा प्राप्त गरेका नेपालका प्रतिनिधि कम्युनिष्ट नेताहरू तिहार कसरी मनाउँदैछन्, एक रिपोर्टः

विद्यादेवी भण्डारी
राष्ट्रपति

जीवनको लामो समय कम्युनिष्ट राजनीतिमा बिताएकी राष्ट्रपति विद्यादेवी भण्डारी यसवर्ष आफ्नो भाइलाई राष्ट्रपति कार्यालय, शितल निवासमै टीका लगाइदिँदै छिन् । उनका तीन भाइमध्ये दुइ भाइ अमेरिका छन् । कान्छा भाइ डेगेन्द्र पाण्डेले भने दिदीको हातको टीका लगाउन पाउने भएका छन् ।

राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईका अनुसार भण्डारी बिहीबार सांस्कृतिक संस्थानको देउसीभैलोको कार्यक्रममा सहभागी भइन् ।

जसमा संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरे । राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा प्रदान गरिन् । देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा उनी आफैंले दिइन् ।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पु¥याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन् । अन्यलाई समूहलाई प्रवेश नभए पनि संस्थानको टोलीमा बालमन्दिरका बालबालिकासमेत सहभागी रहने भएकाले उनीहरूसँग राष्ट्रपतिले रमाइलो गर्ने कार्यक्रम राखेको भट्टराईले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष
नेकपा (माओवादी केन्द्र)

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड बिहीबार बेलुका छमछमी नाचिरहेका भेटिए । पार्टीनिकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा उनी दुई छोरी रेणु र गंगाका साथ सहभागी भएका थिए । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल पनि नाचिरहेका देखिए । साथमा केन्द्र र संघका नेता–कार्यकता सहभागी थिए ।

प्रचण्डले विगतकै निरन्तरता दिँदै यस वर्ष पनि टीका भने लगाउने छैनन् । प्रचण्ड स्वकीय सचिवालयका विष्णु सापकोटा जुगलका अनुसार प्रचण्डले टीका लगाउनेबारे अहिलेसम्म कुनै तयारी गरेको थाहा भएको छैन । जनयुद्धकालदेखि नै दसैंतिहारको टीका नलगाएका प्रचण्डले चाडपर्वको समयमा परिवारका सदस्यलाई निवासमै समय दिँदै आएका छन् । यस तिहारमा पनि उनी परिवारसँग निवासमै रहने जानकारी सापकोटाले दिए ।

अग्निप्रसाद सापकोटा
सभामुख

माओवादी पृष्ठभूमिका सभामुख अग्निप्रसाद सापकोटाले भाइटीका लगाउँदैनन् । माओवादी पृष्ठभूमिबाट राजनीतिमा आएका सभामुख सापकोटाले अहिलेसम्म दसैं–तिहार नमनाएको सापकोटाको प्रेस सल्लाकार श्रीधर न्यौपालेनले बताए ।

‘उहाँले अहिलेसम्म दसैं–तिहार मनाएको मलाई थाहा छैन’, न्यौपानेले भने, ‘फरक पृष्ठभूमिबाट आएकाले यसपटक पनि भाइटीका लगाउने कार्यक्रम छैन ।’

केपी शर्मा ओली
अध्यक्ष
(नेकपा एमाले)

प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको यसपालि भाइटीका छैन । बहिनीज्वाईंको निधन भएकाले परम्पराअनुसार उनको भाइटीका रोकिएको छ । भाइको निधनका कारण दसैंसमेत नमनाएका ओलीको भाइटीका नभए पनि पारिवारिक जमघटमा तिहार मनाउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

माधव कुमार नेपाल
अध्यक्ष
नेकपा (एकीकृत समाजवादी)

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भने यस पटक आफ्नै घरमा भाइटीका लगाउनेछन् ।नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपाल अघिल्ला वर्षमा दिदीबहिनीकोमा गएपनि यसपटक निवासमै भाइटीका लगाउने कार्यक्रम बनेको छ । नेपालका तीन भाइ र तीन दिदीबहिनी छन् ।

मोहन बैद्य किरण
महासचिव
नेकपा (माओवादी क्रान्तिकारी)

पुराना कम्युनिष्ट नेता मोहन बैद्यले दशैं–तिहार मनाउँदैनन् । उनी अस्वस्थ रहेकाले गोंगबु आवास क्षेत्रमै आराम गर्ने उनका भाइ गोपाल बैद्यले जानकारी दिए । कम्युनिष्ट आन्दोलनमा लामो समय विताएका बैद्यले अहिलेसम्म दशैं–तिहार नमनाएको गोपालले बताए ।