देउसी भैलाेकाे सुरुवात गर्ने बलिराजा आखिरमा को हुन् ? किन देउसी भैलोको चलन चलाए ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १९, शुक्रबार
  • chhanbin.com

तराईमा वा हिन्दुस्तानमा ‘त्योहार’ वा ‘दिवाली’ भन्ने गरिए पनि नेपालमा तिहारलाई ‘दीपावली’ भन्ने गरिन्छ । यो चाड शरद् ऋतुमा आउँछ र पाँचदिनसम्म क्रमिक रूपमा निरन्तर मनाउँछौँ ।

तिहार आउने समयमा प्रकृति पनि सफासुग्घर भइसकेको हुन्छ । हाम्रोजस्तो कृषिप्रधान देशमा यहीबेला कृषकले फुर्सद पाउँछन् । कृषकलाई खेतीपातीको मारले छोप्दैन । धान काट्ने र बाली भित्र्याउने काम पनि भइसकेको हुन्छ । यसैले तिहारमा मानिस फुर्सदिलो मन लिएर रस-समाइलोमा भुल्न पुग्छन् ।

दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड हो । दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ । तर,तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन् । यसै समयमा प्रकृति पनि नुवाईधुवाई गरेर स्निग्ध बनेकी हुन्छन् ।

तिहारमा मासुका परिकारभन्दा फलफूल साथै विविध प्रकारका रोटी, मिठाई खाने गरिन्छ । यस्तै, दसैँमा घरआँगन लिपपोत मात्र गरिन्छ भने तिहारमा घरभित्र र मनभित्र पनि लिपपोत गरिन्छ । यही बेला मान्छेको मनको आकाशमा पनि शरद् ऋतु लाग्छ ।

उज्यालोको उत्सव

तिहार उज्यालोको उत्सव हो । हरेक घरलाई उज्यालो बनाउने, झिलीमिली पार्ने यही उत्तम समय हो । अहिले बिजुली बत्तीको उज्यालोमा हामी रमाउँछौं तर मेरो समयमा दियो बालेर सारा घरलाई उज्यालो बनाउने गर्थ्याैँ । मैनबत्ती बालेर रमाउने गर्थ्याैं । यसर्थ धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने तिहार वैभवसँग पनि सम्बन्धित छ ।

तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । लक्ष्मीको मात्र होइन, लक्ष्मीको विपरीतजस्तो प्रतित हुने यमराजसँग यो चाड सम्बन्धित छ । यसैले त तिहारमा यमराजका दूतहरूको पनि पूजा गरिन्छ । पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन गाईको, चौथो दिन गोरुको, त्यही दिन म्हपूजा र अन्तिम दिन भाइटीका गरिन्छ । भाइटीका यो चाडको सबैभन्दा विशेष दिन हो । यो यमराज र यमुनासँग जोडिएको छ ।

तिहारमा विशेषतः सयपत्री र मखमलीको प्रयोग गरिन्छ । मखमलीलाई सुपारी फूल पनि भनिन्छ । नओइलिने फूलको माला लगाउने यही बेला हो । मण्डप बनाउने काम पनि तिहारमै हुन्छ । भाइटीका होस् वा म्हपूजा, मण्डप बनाइएको हुन्छ । अन्नको धूलोले मात्र होइन, तेलले पनि मण्डप घेर्ने चलन छ । तेलले मण्डप घेर्ने भनेको आफ्नो मान्छे दीर्घजीवी होस् भनेर हो । यसरी मखमली, सयपत्री, गोदावरी र कतैकतै दुबोको मालासमेत लगाएर तिहारमा उल्लास मनाइन्छ ।

हाम्रो संस्कृतिमा चारवटा रात्रि छन् । शिवरात्रि, मोहरात्रि (कृष्णजन्माष्टमी), दसैँको कालरात्रि र तिहारको सुखरात्रि । सुखरात्रि भनेको लक्ष्मीपूजाको रात हो । यसैले यो रातको विशेष महत्त्व छ । अन्य तीनवटा रात्रीमा झैँ यो रात्रीमा पनि विशेष शक्तिको आराधना गरिन्छ ।

तिहार र समृद्धिको सम्बन्ध

तिहार पर्व समृद्धि र विकाससँग पनि जोडिएको छ । धन-दौलत, वैभव, सुख-ऐश्वर्यको आराधना गरिने हुँदा यो समृद्धिसँग नजिक रहने गर्छ । यसबाहेक नारी सदस्य र पुरुष सदस्यको सम्बन्धलाई हार्दिक बनाउने माध्यम हो तिहार । मान्छेको भलो गर्ने काम मान्छेले मात्र होइन, पशुहरूले पनि गरेका छन् भनेर नै पशुको पूजा गर्ने परम्परा बसाइएको हो । त्यसैले काग, कुकुर, गाई, गोरुको पूजा गरिन्छ । काग, कुकुरलाई सेलरोटी, फर्सीदेखि लिएर अन्य मीठा खानेकुरा खुवाइन्छ ।

कागलाई सुभबोल-सुभबोल भन्दै शुभसमाचार ल्याउने प्रचलन हाम्रो समाजमा छ । काग चिरञ्जीवी हुन्छ भन्ने विश्वास पनि छ । कागले अमृत खाएको छ भन्ने मिथ छ । थुतुनोमा अमृत लागेको मुखले दुबाेमा पुछेको हुनाले दुबो मर्दैन भन्ने विश्वास छ । कुकुरलाई उसको काम र वफादारिताका आधारमा सम्मान गर्छौं । गाईलाई लक्ष्मी, आमा वा जीवनदायी मानेर ढोग्छौँ । भव्य पूजा गर्छौं ।

तिहार खानपान, रमाइलो, नाचगान र पूजाआराधनामात्र नभएर जीवनको विस्तारसँग पनि सम्बन्धित छ । यही बेला मानिस जमेर जुवातास खेल्छन् । जुवातास किन खेलिन्छ भन्दा हारजित थाहा होस् वा हारलाई पनि स्वीकार गर्न सकियोस् भनेर जुवा, तास, कौडा र पासा खेलिन्छ ।

यस्तै, नेवार समुदायको नेपाल संवत्यही बेला सुरु हुन्छ । नयाँ वर्षको रमझममा काठमाडौं उपत्यका रमाउँछ । आज नेपाल संवतलाई सरकारी तवरबाटै मान्यता छ । नेपाल भन्ने देशकै नामबाट आएको यो संवत् हाम्रो मौलिक संवत् हो ।

सुर र संगीतको चाड

तिहारमा नाच्ने, गाउने र संगीत बजाउने तीनवटै काम एकसाथ हुन्छ । यसैले यो सुर र संगीतको चाड पनि हो ।

तिहारको भैली लय हालेर सुरैसँग गाउने गरिन्छ । महिलाहरूले ‘हरियो गोबरले लिपेको, हे औँसीको बारो’ भन्दै सरसफाइको कुराबाट भैली गीत सुरु गर्छन् । भैली राति गाइन्छ । यसको सामाजिक कारण के छ भने हाम्रा महिलालाई निर्धक्क रूपमा नाचगानमा भाग लिन कडाइ गरिन्छ । तर, तिहारको मौका पारेर उनीहरूलाई एक/दुई दिन भए पनि नाचगान गर्न छुट हुन्छ ।

भैली गीत दिदीबहिनीले आफ्ना दाजुभाइको भलो होस् भनेर गाइएको भन्ने एकथरी मत छ । गाईको मात्र होइन, गोरुको पूजा गरेपछि देउसी गाउने चलन पनि तिहारमा छ । देउसी रे, देवश्री, देवताको आशिषसँग जोडिएको छ । पुरुष सदस्यले ‘देउसी रे’ भन्दै गीत गाएर देउसी खेल्छन् ।

देउसीसँगै भैली लोग्ने मान्छेले पनि गाउँछन् । तर, पुरुषले गाउने भैली लय हालेर वा लेघ्रो तानेर गाइँदैन । भट्याउँदै गाइन्छ । पुरुष-महिला दुवैले ‘हामी यसै आएनौँ, बलि राजाले पठाए, हे औँसी बारो गाई तिहार भैलो’ भनेर देउसी-भैलो खेल्छन् ।

१५औँ शताब्दीमा जुम्लामा बलि राजा भन्ने एकजना व्यक्ति थिए भन्ने भनाइ पनि छ । उनले नै देउसी र भैलोको सुरुवात गराएको हो भन्ने जनश्रुति समाजमा पाइन्छ ।

मृत्युबोध गराउने पर्व

मानिस एक वा अर्को किसिमले अकस्मात् मर्ने गर्छ । बिरामी भएर पनि मर्ने गर्छ । कोही समय पुगेर मर्छन् त कोही असामयिक तवरले मर्छन् । तर, मृत्युलाई कसरी ग्रहण गर्ने भन्नेमुख्य कुरा हो ।

एउटा पौराणिक कथा छ, यमुना र यमराजको । यमुना कहिलेकाहीँ मात्र दाइकहाँ आउने हुनाले दाइ यमराजले मीठो खुवाउने, राम्रो लगाउने गरेर बहिनीलाई प्रसन्न बनाउन खोज्थ्यो । यसो त हामी पनि परिवारमा धेरैपछि आफ्ना मान्छे भेट्दा वादिदीबहिनीलाई घरमा बोलाउँदा मीठोमसिनो खुवाउने गर्छौं ।

यसपछि यमराज खुसी भएर वरदान माग भन्दा यमुनाले संसारका सबै दिदीबहिनीले दाजुभाइलाई टीका लगाऊन् भनेर मागिन् । यसैले तिहारमा आफ्ना दाजुभाइ दीर्घजीवी होऊन् भनेर दुवोको पानी र तेलले घेरेर ओखर फोर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । यही पौराणिक कथनले भाइटीकाको थालनी भएको देखिन्छ । यसबाहेक विभिन्न स्थान विशेषमा भाइटीका कसरी सुरु भयो भन्ने आआफ्नै कथा छ ।

सम्पूर्णमा के देखियो भने यमपञ्चक भन्नेबित्तिकै मृत्युको हरहिसाब राख्ने कुरा जोडिन्छ । मृत्युका विविध रूप छन्, जस्तो असामयिक, सामयिक, दुर्घटना, विपत्ति आदि । तर, यमराजले पनि तिहारको औँसीको दिनमा जसले सफासुग्घर गर्छ र बत्ती बाल्छ, त्यस्ता मान्छेलाई मकहाँ लिएर नआउनू भनेका थिए भन्ने मिथ पनि हाम्रो समाजमा प्रचलित छ । यसरी तिहारमा हामी यमराजका दूतको पनि श्रद्धापूर्वक पूजा गर्छौं । जसले हामीलाई मृत्युबोध गर्न सिकाउँछ ।