सरकारले गर्नुपर्ने काम नगर्ने ? खाली भाग्दै हिँडेर हुन्छ ? भन्दै सिंहले सरकारको काढे उछितो

  • प्रकाशित मिति : २०७८ कार्तिक १८, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले न्यायालयमा भएको बेथितीलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताए । न्यायालयको यो अवस्था भइसक्दा पनि राजनीतिक दलका नेताहरूले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने सिंहको भनाइ थियो ।

‘नेताहरू न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरूले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेथितीमा यो सरकारका नेताहरूले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त ? कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैँ विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ ?’ उनले भने, ‘यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खाली भाग्दै हिँडेर हुन्छ ? समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’

उनले चाडबाडको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए । त्रुटिपूर्ण व्यवस्थापनका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको उनको भनाइ थियो ।
कांग्रेसको कलहबाट कम्युनिस्टले फाइदा लिएको उनको भनाइ थियो । धाँधलीरहीत प्रतिस्पर्धामा उत्रन पार्टी सभापति शेरबहादुर देउवालाई उनले चुनौती दिए । पार्टी नेतृत्वले काम गर्न नसकेकाले बेथिति बढेको उनको भनाइ थियो ।