विश्वकप छनोटको तयारीका नेपाली महिला क्रिकेट टोली बंगलादेश प्रस्थान, को-को छन् ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १८, बिहीबार
  • chhanbin.com

अर्को महिना युएईमा हुने आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोट अघि तयारीको लागि नेपाली महिला क्रिकेट टोलीले बंगलादेश प्रस्थान गरेको छ। नेपाली महिला टोली बिहीबार एक हप्ताको अभ्यासको लागि बंगलादेश निस्केको हो।

नेपाली टोली २५ गते कात्तिकसम्म बंगलादेशमा चार अभ्यास खेल खेल्ने नेपाली क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यसपछि महिला टोली कतार भ्रमणमा जानेछ। नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते नोभेम्बर १६, १७ र १८० मा कतारसँग तीन टी२० आई सिरिज खेल्नेछ।

त्यसपछि मंसिर ३ मा टोली युएईतर्फ लाग्ने छ। एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्। छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन्। नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। त्यसको भोली पल्ट भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ।

क्यानले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरिसकेको छ। ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि स्थान बनाउने छन्।

नेपाली महिला टोलीः
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई ।