मोदीले देउवालाई दिए भारत भ्रमणको निम्तो, के-के मा जनाए प्रतिबद्धता ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १७, बुधबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबिचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘मैले उहाँलाई नेपाल भ्रमणको निम्तो दिएँ, उहाँले पनि भारत भ्रमणको निम्तो दिनुभयो,’ उनले भने, ‘द्विपक्षीय भ्रमणबारे काठमाडौँ पुगेपछि मितिको टुङ्गो गरिनेछ ।’

जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन आइतबार साँझ ग्लास्गो आएका प्रधानमन्त्री देउवा र मोदीले त्यही दिन अनौपचारिक भेटवार्ता गरे पनि मंगलबार बिहान द्विपक्षीय औपचारिक भेटवार्ता भएको हो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीको सीमा विवादका कुरामा नेपाल र भारतका बीचमा सम्बन्ध सुधार हुन नसकिरहेको बेला देउवा र मोदीबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल र भारतबिच पछिल्लो समय सीमा, दार्चुलाको तुइन घटनालगायतका विषय उठेका छन् तर मंगलबारको भेटवार्तामा ती विषयमा कुराकानी भए/नभएको भन्नेबारेमा दुवै पक्षले खुलाएको छैन ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले ग्लास्गोस्थित कोप २६ आयोजना स्थल ‘स्कटिस एक्जिबिसन सेन्टर’ मा प्रधानमन्त्री देउवा र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको जानकारी दिए ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि दुई नेताबिचमा भेटवार्ता भएको थिएन ।