प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई को हुन् ? यस्तो छ उनको संघर्षको कथा (जीवनी सहित)

  • प्रकाशित मिति : २०७८ कार्तिक १६, मंगलवार
  • chhanbin.com

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ५१ वर्ष अघि जन्मिएका राजेन्द्र राई प्रदेश १ कोे मुख्यमन्त्री बनेका छन्। बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कान्छो सन्तानको रुपमा वि.सं. २०२७ साल असार १५ गते तत्कालिन किमलुङ गाविसमा जन्मिएका राई विद्यालय तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । विद्यालयमा अनेरास्ववियुमा संगठित भएर राजनीतिक यात्रा प्रारम्भ गरेका राई ३७ वर्षदेखि अनवरत राजनीतिमा संलग्न रहँदै आएका छन् ।
वि.सं. २०४३ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रवेश गरे । क्याम्पसमा पनि उनले विद्यार्थी राजनीतिलाई निरन्तरता दिए । त्यस क्रममा २०४९ मा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) सभापति बन्न सफल भए ।

२०४१ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीको सचिव भएर विद्यार्थी राजनीति सुरु गरेका राई सोही संगठनको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै २०५७ सालमा पहिलो पटक र २०५९ सालमा दोश्रो पटक केन्द्रीय अध्यक्ष बने। उनी अध्यक्ष भएकै बेला देशभर अखिलले सबैभन्दा धेरै स्ववियुमा जित हासिल गरेको थियो । नेकपा एमालेले संवैधानिक राजतन्त्र भनिरहेकै बेला उनी नेतृत्वको अखिलको केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनले गणतन्त्रमा जानुपर्ने माग अगाडि सारेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गर्दै आन्दोलनमा होमिएका राई नेकपा एमालेको नवौं महाधिवेशन पछि भने किनारामा परे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आएसँगै राई छाँयामा परे। नेकपा एमाले भित्रको गुटको राजनीतिले केही समय उन को गतिलाई रोक्न खोजे पनि उनले राजनीतिक यात्रालाई नयाँ ढंगले अघि बढाए र प्रदेश १ को तेश्रो मुख्यमन्त्रीको रुपमा अहिले उनले जिम्मेवारी पाउन सफल पनि भए ।
लामो समय अखिल राजनीतिमा सक्रिय रहेका राई २०६८ सालमा केन्द्रीय सदस्य मनोनित भएपछि पार्टी राजनीतिलाई नयाँ ढंगले अगाडि बढाए। राई २०७१ सालमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केन्द्रीयसदस्यमा निर्वाचित भए ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । २०७४ सालको आम निर्वाचनमा नेता राई भोजपुरबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

पञ्चायतकालमा सात महिना जेल जीवन बिएका राई शाही शासनका विरुद्ध आन्दोलन गर्दा चार महिना प्रहरी हिरासतमा परे ।
नेता राई राज्यबाट मात्र नभएर देशमा चलेको सशस्त्र आन्दोलनमा विद्रोही पक्षबाट पनि केही समय नियन्त्रित भएका व्यक्ति हुन् । २०६० सालमा जनयुद्धरत नेकपा माओवादीका कार्यकर्ताले उनलाई भोजपुरमा एक हप्ता नियन्त्रणमा राखेको थियो । अहिले उनी सोही दलसमेतको सहयोग र समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।