सर्वोच्चबाट चोलेन्द्रलाई कसरी अन्माउने भन्ने खाका तयार गर्न न्यायाधीशहरूको छलफल शुरू

  • प्रकाशित मिति : २०७८ कार्तिक १५, सोमबार
  • chhanbin.com

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै विरोध गर्दै आएका न्यायाधीशहरू छलफलमा बसेका छन् । न्यायालय सुधारको माग गर्दै विगत ८ दिनदेखि बेञ्च बहिष्कार गरिरहेका उनीहरू सोमबार आन्तरिक छलफलमा जुटेका हुन् ।

आज बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका छन् । आइतबार प्रधानन्यायाधीश राणाले आफूले सम्मानजनक बहिर्गमन चाहेको प्रस्ताव गरेसँगै न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।

प्रधानन्यायाधीशको प्रस्तावसँगै न्यायाधीशहरूले वार्ताका लागि ३ जना न्यायाधीशको एक समूह बनाएको थियो । न्यायाधीशहरुको समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको सम्मानजनक बहिर्गमनको बाटोका बारेमा छलफल गर्न पठाएको हो ।

उनीहरूले आइतबार दिउँसो साढे ४ बजे प्रधानन्यायाधीशसँग भेट गरी छलफल गरेका थिए । सोही छलफलका क्रममा प्रधानन्यायाधीशको भनाईबारे जानकारी दिन न्यायाधीशहरु आन्तरिक छलफलमा बसेका हुन् ।