तीन महिनामै यी दुई बैंकले १ अर्ब माथि खुद नाफा कमाए, कुन बैंकको हैसियत कस्तो ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १५, सोमबार
  • chhanbin.com

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमै दुई बैंकले १ अर्ब माथि खुद नाफा कमाएका छन् । निजी क्षेत्रको अग्रणी नबिल र एनएमबी बैंकले ३ महिनामै १ अर्ब बढी नाफा कमाएका हुन् ।

नबिले सोमबार सार्वजनिक गरेको आव २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ११ करोड २२ लाख खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशत बढी हो । नबिलले गत बर्ष पहिलो त्रैमासमा १ अर्ब ३ करोड ५७ लाखरुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र संचालन नाफा बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित भएको हो।समीक्षा अवधिमा नबिलको खुद ब्याज आम्दानी ४२.४१प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ७.१३ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

१३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ, सेयर प्रिमियममा १५ करोड ८७ लाख र रिटेन्ड अर्निङमा ४ अर्ब ६० करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ८५ करोड १९ लाख रुपैयाँ छ।

असोज मसान्तसम्ममा बैंकले २ खर्ब २५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १.०८ प्रतिशत र कर्जा लगानी विस्तार ४.७१ प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा नबिलको प्रतिसेयर आम्दानी ३९.९४ रुपैयाँबाट घटेर ३२.१४ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४७.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६.५१ गुणा, सीडी अनुपात ८८.६४ प्रतिशत, आधारदर ६.११ प्रतिशत र स्प्रेडदर ३.१८ प्रतिशत र खराब कर्जा १.१३ प्रतिशत रहेको छ ।

एनएमबीको नाफा ४२ प्रतिशतले वृद्धि

एनएमबी बैंकले पनि पहिलो त्रैमासमा १ अर्ब बढी नाफा कमाएको छ । चालू वर्षको असोज मसान्तसम्म एनएमबीले १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत बढी हो । एनएमबीले गत वर्षको पहिलो त्रैमासमा ७३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी, संचालन नाफाका साथै फि कमिशनमार्फत हुने आम्दानी बढ्दा उल्लेख्य रुपमा नाफा बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर १ अर्ब ४२ करोड २० लाख रुपैयाँ पुगेको छ .त्यस्तै, सञ्चालन नाफा २५.२५ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

१६ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ३३ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ३ अर्ब ३२ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४५ करोड ८४ लाख रुपैयाँ छ।
असोज मसान्तसम्ममा बैंकले १ खर्ब ७३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५.४६ प्रतिशत र कर्जा लगानी विस्तार ९.६४ प्रतिशतले सुधार भएको हो।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा एनएमबीको प्रतिसेयर आम्दानी २०.५८ रुपैयाँबाट बढेर २५.५९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा एनएमबीको प्रतिसेयर नेटवर्थ १५३.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.०२ गुणा, सीडी अनुपात ९१.२७ प्रतिशत, आधारदर ७.९६ प्रतिशत, स्प्रेडदर ३.०२ प्रतिशत र खराब कर्जा १.८५ प्रतिशत रहेको छ ।