मुक्तिनाथ विकास बैंकले अघिल्लो बर्षको भन्दा धेरै घोषणा गर्यो लाभांश, एनएमबीको बोनस र नगद कति ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • chhanbin.com

मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.९२५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ३.४९ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद गरी १५.५१ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

त्यस्तै एनएमबी बैंकले पनि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।