सिद्धार्थ बैंकले ३ महिनामै कमायो १ अर्ब, खुद नाफा कति प्रतिशतले भयो वृद्धि ?

  • प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार
  • chhanbin.com

सिद्धार्थ बैंकको खुद नाफा झन्डै दोब्बरले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८९.५० प्रतिशतले वृद्धि भएको छ ।

बैंकले पहिलो त्रैमासमा ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको पहिलो त्रैमासमा ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, संचालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ८७.२७ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

१० अर्ब ९६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६३ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २९ करोड ७८ लाख रुपैयाँ छ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १.४४ प्रतिशत र कर्जा लगानी विस्तार ९.२३ प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.२७ रुपैयाँबाट बढेर ३४.६२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८८.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.२६ गुणा, सीडी अनुपात ८७.७५ प्रतिशत, आधारदर ७.५७ प्रतिशत र स्प्रेडदर ३.४७ प्रतिशत र खराब कर्जा ०.५४ प्रतिशत रहेको छ ।