बाफ रे बाफ भन्दै देउवाले जिब्रो टोकेको प्रसंग सुनाएर प्रचण्डले ओली माथि गरे हमलै-हमला

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीले कहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्न नचाहेको बताएका छन् । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले प्रधानमन्त्री हुँदा कहिले पद छाड्नु पर्दैन भन्ने शैलीमा बन्दोबस्त गरेको बताएका हुन् ।

‘मलाई राम्रो केही चाहिएको थिएन, तर प्रधानमन्त्री भएर प्रचण्ड बालुवाटार छिरेपछि ढेड लाखको खाटमा सुत्यो भनियो, प्रचार गरियो, मलाई किनेको पनि थाहा छैन, अब त्यो खाँट बाहिर ल्याएर भाचिदिँउ भने पनि भएन, तर ठूलो स्यालहुइयाँ बनाइयो,’ प्रचण्डले भने, ‘मैले के भन्न खोजेको हुँ भने अहिले बालुवाटारमा प्रधानमन्त्री बस्ने निवास झण्डै झण्डै दरबारजस्तो बन्दैछ, बस्ने घर, अलिक नजिकै प्रधानमन्त्रीको निजी अफिस त्यस्तै दरबार जस्तो बन्दै छ, त्यो नेपाल सरकारले प्रधानमन्त्री बस्ने राम्रै ठाउँ बनाउन खोज्यो भन्न सकिन्छ, तर केपीले अब यो दरबार मैले जिन्दगीभर छोडन पर्दैन भन्ने ठानेका रहेछन्, थाइल्याण्ड, इटाली, रोमबाट यति महँगा महँगा सामान ल्याएर थुपारेको रहेछ हेर्नुहोस ।’

कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई ओलीले बालुटार निवास सजाएको बारेमा थप बढी थाहा पाएको बताए । ‘त्यो देख्दा अरु त अरु शेरबहादुर जीले पनि जिब्रो टोक्नु भएको छ, बाफ रे बाफ भन्दै, केपी ओलीको दम्भ, उनले के ठानेको र कत्रो राजकीय जीवन, राजा भए भन्ने ठानेका रहेछन् क्या केपीले,’ प्रचण्डले थपे, ‘राजै भए अब मैले यो दरबार छोड्न पर्दैन भने जसरी त्यस्तो गरेका रहेछन् ।’

प्रधानमन्त्री हुँदा ओलीले आफ्नो बन्दोबस्त गरेको बारेमा गठबन्धन दलमा समेत कुरा भएको प्रचण्डले खुलासा गरे । उनले यो कुरा जनतालाई थाहा हुनु पर्ने बताउँदै अर्बौंको सामान विदेशबाट ल्याएर जिन्दगीभरि प्रधानमन्त्री हुन्छु भन्ने सपना देख्ने मान्छेलाई नेपाली जनताले चिन्नु पर्ने बताए । उनले यस्ता मान्छेलाई आगामी चुनावमा सजाया दिनेबारेमा जनताले हेर्नु पर्ने बताएका थिए ।

‘मैले माओवादी आतंक किन भनेको भने, त्यस्तो विचरा ओली जी, त्यस्तो सपना देखेको, त्यही जिन्दगी बिताउने, बालुवाटारमै, देश विदेशबाट महँगा महँगा सामान ल्याएर उपयोग गर्ने सोचेर बसेका, सबै प्रदेशमा सरकार चलाएर बसेका ओलीलाई कसले यो गति बनायो ? सबै सरकार हातबाट जाने, केन्द्र पनि जाने, त्यो खाट ल्याएको पनि काम लागेन,’ उनले भने, ‘नुहाउनका लागि ल्याएको अर्बौं, करोडौंको छ, त्यो पनि उनले उपयोग गर्न नपाउने स्थिति छ, त्यो स्थिति कसले बनायो ? मलाई लागेको छ, नेपाली जनताले बनायो, तर उनलाई लागेको छ माओवादीले बनायो, प्रचण्डले नै बनायो ।’