एमालेमा फर्कने कल्पना गर्नै सक्दिन भन्दै माधवले माओवादीसँग एकता गर्ने कुरामा लगाए पूर्णबिराम

  • प्रकाशित मिति : २०७८ कार्तिक १२, शुक्रबार
  • chhanbin.com

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको बताएका छन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे।

“वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला। त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन। चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ”, नेपालले भने।

पूर्वपार्टी एमालेमा फर्किने कुरा कल्पनासमेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे। एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो।

अध्यक्ष नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन)मा जानु जरुरी नभएको पनि बताएका छन्। ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा नेपालले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र संघीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले भने, “किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन। मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो।”

निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि समेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा अध्यक्ष नेपालले जोड दिए।