प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। उनी कतार एयरवेजको विमानमार्फत पौने ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।
यसैबीच, देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन्। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा बेलायत भ्रमणमा रहने अवधिभरका लागि निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको बताए।
नोभेम्बर १ र २ मा ग्लोस्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औं सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भएर उनले समिटलाई नेपालकोतर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाको नोभेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ।