सेयर बजार निरन्तर उकालो लागेको छ । आइतबारदेखि उकालो लागेको बजारमा लगातार पाँचौं दिन बढेको हो ।
यस साताका ५ दिनमै नेप्से करिब २२५ अंकले बढेको छ । गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसयता बजार निरन्तर उकालो लागेको हो ।
सूचकमा निरन्तर वृद्धि भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब २० करोडले घटेर सवा ५ अर्बमा सीमित भएको हो ।
सेयर बजार मापक सूचक नेप्से आज १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा पुगेको छ । यसदिन २२२ कम्पनीको ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटामध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.५३ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ । होटल समूह सबैभन्दा धेरै १.१५ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका २२२ कम्पनीमध्ये १२८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेशनल हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक साढे २२ करोड र जीवन विकास लघुवित्त १८ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज रिडी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
यस्तै, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसैगरी, जीवन विकास, ग्रामीण विकास लघुवित्त, कामना सेवा र सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस्तै, नेपाल हाइड्रो, गणपति लघुवित्त, युनाइटेड मोदी र अरुण भ्यालीका सेयरधनीले ७ प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरधनीले भने सबैभन्दा धेरै ७.७९ प्रतिशत गुमाएका छन् ।